साफ यू–१९ फुटबल च्याम्पियनसिपको तयारी सुरु
काठमाडौं । पाँचौं संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा आयोजना हुँदैछ । च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तयारी सुरु गरेको छ ।
‘‘हामीले उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेका छौं । ब्यवस्थापकीय हिसावले पनि साफ आयोजनालाई उत्कृष्ट रुपमा सफल बनाउले लक्ष्य राखेका छौं,’’ च्याम्पियनसिप बारे सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।
एन्फाका प्रतियोगिता संयोजक सन्जीव मिश्रले उमेर समूहमा हरेक पटक नेपालको प्रदर्शन राम्रो रहेकोले उपाधि जित्ने दाबी गरे । ‘‘साफका हरेक खाले प्रतियोगितामा नेपालको उपाधि दावेदारी रहन्छ । नेपालको लक्ष्य भनेको च्याम्पियन हुने नै हो । हामीले यसअघिका दुई संस्करणको उपाधि जितिसकेका छौँ,’’ मिश्रले भने ।
च्याम्पियनसिपका लागि एन्फाले जिल्ला र प्रदेशहुँदै केन्द्रीय स्तरसम्मको छनोट गराएरु ३५ जना खेलाडीलाई प्रशिक्षणमा राखेको छ । छनोटमा देशभरबाट पाँच सय ४६ खेलाडी सहभागि थिए । यस च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान, भारत, भुटान र बंगलादेशको सहभागिता रहने छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले यसअघि सन् २०१५ र २०१७ मा उपाधि जितेको थियो ।

टिप्पणी लेख्नुहोस्