टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले हङकङलाई हरायो
क्वालालम्पुर । टी–२० विश्वकपको छनोटका लागि मलेसियामा जारी चार राष्ट्र सम्मिलित टी–२० श्रृंखलामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । वायुमास ओभल क्रिकेट मैदानमा हङकङ दिएको ८५ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा सम्झना खड्काले ३६ बलमा ३६ रनको अविजित पारी खेलिन । यस क्रममा खड्काले ५ चौंका प्रहार गरिन् । टोलीका लागि ओपनर पुजा महतोले १६ र कप्तान रुबिना क्षेत्रीले १० रन बनाउदा सिता राना मगर ३ रनमा अविजित रहिन । हङकङका लागि बलिङमा इक्रा सहर, मैरिको तबीथा आओटा, बीबी मरियम र का यिङ चानले समान १-१ विकेट लिइन ।
यसअघि पहिले ब्याटिङ गरेको हङकङले १९ ओभर १ बलमा अलआउट हुँदै ८४ रन बनाएको थियो । टोलीका लागि का यिङ चान ३४ र शिंग यान डोरोथिया चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि बलिङमा सिता राना मगरले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ५ विकेट लिइन । इन्दु बर्माले २ विकेट लिइन । कविता कुँवर, पुजा महतो र रुबिना क्षेत्रीले समान १-१ विकेट लिइन । खेलको प्येयर अफ द म्याच सिता राना मगर भइन ।
नेपालले टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित टी–२० श्रृंखला खेल्दैछ । श्रृंखलामा नेपाल, मलेसिया, कुवेत र हङकङको सहभागिता रहेको छ । नेपालले अब आफ्नो दोस्रो खेल अगस्ट २३ मा कुवेतसँग खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्