लेख विवरण

टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौंँ । नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बायोमास ओभल रङ्गशालामा बुधबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो ।

नेपालले सिरिजको पहिलो खेलमा मङ्गलबार हङकङलाई ६ विकेटले हराएको थियो । दुई जितसँगै नेपालले चार अङ्क बनाएको छ । लगातार दुई हार खेपेको कुवेत अङ्कविहीन छ । कुवेत पहिलो खेलमा घरेलु टोली मलेसियासँग आठ विकेटले पराजित भएको थियो ।

जितका लागि नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ५५ रनमा समेटिएको थियो । कुवेतका लागि जिफा जिलानीले ११ र खादिजा खलिले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका इन्दु बर्माले तीन विकेट लिइन् । खुशी डङ्गोलले दुई तथा कविता कुँवर, सीता रानामगर र ईश्वरी विष्टले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८९ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्मा र बिन्दु रावलले समान २३र२३ रन बनाए । कोजोल श्रेष्ठले अविजित १९ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा कुवेतका मरियम्मा हैदरले चार विकेट लिइन । मरियम उमरले दुई तथा प्रियदा मुरली र खादिजा खलिलले एक एक विकेट लिए । नेपालले अब सिरिजको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीबिच शनिबार फाइनल खेल हुनेछ ।

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपालले मलेसिया, हङकङ र कुवेत सम्मिलित सिरिज खेलेको हो । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ ।

नेपाल रहेको समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छ ।

नेपालले पहिलो खेल ३१ अगस्टमा मलेसिया, दोस्रो खेल सेप्टेम्बर १ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ३ मा भुटान, चौथो खेल सेप्टेम्बर ४ मा कतार र अन्तिम खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्नेछ ।

समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्न पाउनेछन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.