एएफसी च्याम्पियन्स लिग : रोनाल्डो होइन नेयमारको टोली भारत आउने
काठमाडौंँ । ब्राजिलका स्टार फुटबलर नेयमारले यो वर्ष आफ्नो पहिलो खेल भारतमा खेल्ने सम्भावना बढेको छ । उनको नयाँ टोली अल हिलालले एसियन च्याम्पियन्स लिगमा भारतीय क्लब मुम्बई सिटी एफसीसँग खेल्नुपर्नेछ । एएफसी च्याम्पियन्स लिगको समूह चरणको ड्र बिहीबार (अगस्ट २४) सार्वजनिक भएको छ । यसैबीच, मुम्बई सिटी एफसीले साउदी अरेबियाको क्लब अल हिलालसँगै समूह डी मा स्थान पाएको छ।
यसअघि क्रिस्टियानो रोनाल्डो भारत आउन सक्छन् भन्ने आशा फ्यानहरुले गरेका थिए तर त्यसो भएन । रोनाल्डोको टोली अल नासर प्रतियोगिताको समूह ई मा छ।
नेयमारले अल हिलाल क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । अल हिलाल नेयमारलाई ९० मिलियन युरोमा खरिद गरेको छ । उनको दुई वर्षको तलब प्याकेज ३०० मिलियन युरो रहेको छ । नेयमार यसअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट खेल्दै आएका थिए।
एएफसी च्याम्पियन्स लिगको समूह चरणका खेलहरू सेप्टेम्बर १८ बाट सुरु हुनेछन् । अल हिलाल बाहेक, मुम्बई सिटीको समूहमा इरानको एफसी नासाजी माजानदारन र उज्वेकिस्तानको नवबाहोर रहेका छन्।

टिप्पणी लेख्नुहोस्