दक्षिण अफ्रिका क्रिकेट टोलीले पायो नयाँ कप्तान
काठमाडौंँ । दक्षिण अफ्रिकी महिला क्रिकेट टोलीले नयाँ कप्तान पाएको छ । टोलीले कप्तानको जिम्मेवारी स्टार ब्याट्सम्यान लौरा वोल्भार्डलाई दिएको छ । २४ वर्षीय लौराले आगामी दुई महिनासम्म टोलीको नेतृत्व गर्नेछिन । उनलाई पाकिस्तान भ्रमण र न्युजिल्यान्डविरुद्धको घरेलु शृंखलाका लागि टोलीको अन्तरिम कप्तान नियुक्त गरिएको छ ।
क्रिकेट दक्षिण अफ्रिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै न्युजिल्यान्ड सिरिजपछि वोल्भार्डको कप्तानीको समीक्षा गरिने जनाएको छ। जसका आधारमा उनको भविष्य निर्धारण हुनेछ । गत साता पूर्व कप्तान सुने लुसले आफ्नो पदबाट राजीनामा दिएपछि बोर्डले उनको स्थानमा नयाँ कप्तान नियुक्त गरेको हो ।
दक्षिण अफ्रिकी महिला टोलीले सेप्टेम्बर १ देखि पाकिस्तान भ्रमण गर्नेछ, जहाँ टोलीले ३ टि-२० खेलको शृंखला सहित ३ एकदिवसीय खेल खेल्नेछ । पाकिस्तान भ्रमणपछि दक्षिण अफ्रिकाले न्युजिल्यान्डसँग तीन एकदिवसीय र पाँच टी–२० खेलको आयोजना गर्नेछ । यी दुवै शृङ्खलामा लौराले आफ्नो कप्तानीको गुणस्तर देखाउने पूर्ण अवसर पाउनेछिन्।
कप्तान नियुक्त भएकोमा लौराले खुसी व्यक्त गरेकी छन् । उनले आगामी २ शृङ्खलाका लागि कप्तानको जिम्मेवारी पाउनु ठूलो सम्मान भएको बताइन । यो टोलीसँग केही वर्ष खेलेपछि म सधैं कप्तान बन्न चाहन्छु। म सधैं नेतृत्वदायी भूमिका खेल्न चाहन्छु। एक कप्तानको रूपमा, यसले मलाई क्रिकेटर र मैदानमा कप्तानको रूपमा सोच्न मद्दत गर्नेछ। उनले भनिन ।
केप टाउन मा जन्मेकी २४ वर्षीय लौराले छोटो समयमै राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएकी छन् । टोलीका लागि एक टेस्ट खेलेर ३२ रन बनाएकी उनले ८० एकदिवसीय खेलमा ३ हजार १ सय ९३ रन बनाएकी छन् । लौराले ५३ टी–२० खेलमा १ हजार ७९ रन बनाएकी छन् ।

टिप्पणी लेख्नुहोस्