लेख विवरण

राशिद खानले बीबीएल बहिष्कार गर्ने धम्की फिर्ता लिए

राशिद खानले बीबीएल बहिष्कार गर्ने धम्की फिर्ता लिए

मेलबर्न । अफगानिस्तानका स्टार लेग स्पिनर राशिद खानले अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) बहिष्कार गर्ने आफ्नो धम्की फिर्ता लिएका छन् । उनले आफू २०२३/२४ को टी-२० फ्रेन्चाइजी प्रतियोगिताको सिजनका लागि उपलब्ध रहेको बताएका छन् ।

अस्ट्रेलियाले गत मार्चमा अफगानिस्तानविरुद्ध तीन खेलको एकदिवसीय सिरिजबाट बाहिरिने निर्णय गरेपछि राशिदले बीबीएल बहिष्कार गर्ने धम्की दिएका थिए । अफगानिस्तानको तालिबान सरकारले बालिका शिक्षामा प्रतिबन्ध लगाएको निर्णयको विरोधमा अस्ट्रेलिया एकदिवसीय शृंखलाबाट बाहिरिएको थियो ।

त्यसबेला राशिदले भनेका थिए, ‘यदि अस्ट्रेलियालाई अफगानिस्तानसँग खेल्न समस्या छ भने म पनि बीबीएलमा मेरो उपस्थितिबाट कसैलाई अप्ठ्यारो पार्न चाहन्न । त्यसैले म यस प्रतियोगितामा आफ्नो भविष्य बारे गम्भीरतापूर्वक सोच्नेछु।'

तर अस्ट्रेलियन एसोसिएटेड प्रेसका अनुसार २४ वर्षीय स्पिनरको नाम बीपीएलको ड्राफ्टमा विदेशी खेलाडीको आधिकारिक सूचीमा समावेश गरिएको छ । रसिदसँगै अफगानिस्तानका मुजिब उर रहमान, नूर अहमद र इजहर उल हक नाभिदको नाम पनि सूचीमा छ ।

बीबीएल डिसेम्बर ७ देखि जनवरी २४ सम्म सञ्चालन हुनेछ । रसिदले बीबीएलको पछिल्लो ६ सिजन एडिलेड स्ट्राइकर्सबाट खेल्दै आएका छन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.