हाम्रा खेलाडीहरूका लागि यो ठूलो अवसर हो : प्रशिक्षक देसाई
काठमाडौंँ । नेपाली टोलीले पहिलो पटक एसिया कप खेल्न लागेको छ । यस्तो अवस्थामा टोली निकै उत्साहित रहेको छ । नेपालले एसिया कपको उदघाटन खेल खेल्दैछ । टोलीले अगस्ट ३० मा पाकिस्तानसँग खेल्नेछ । यसका लागि टोलीसँग पाकिस्तान पुगेका मुख्य प्रशिक्षक मोन्टी देसाईले भारत–पाकिस्तानको समूहमा रहेर आफ्ना खेलाडीले धेरै सिक्ने अवसर पाउने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार कराँचीमा सञ्चारकर्मीसँग कुरा गर्दै देसाईले एसिया कपमा छनोट भएको ऐतिहासिक उपलब्धिको प्रशंसा गरे । उनले भने, "यो ऐतिहासिक उपलब्धि हो । हामी पाकिस्तान र भारतको समूहमा छौं। हाम्रा खेलाडीहरूका लागि यो सिक्ने ठूलो अवसर हुनेछ।" तर, देसाईले जितको भविष्यवाणी गर्न अस्वीकार गरे।
उनले भने, “हामी जित्छौं भनेर म भन्न सक्दिन। हाम्रा खेलाडीहरूले शीर्ष क्रिकेटरहरूलाई टिभीमा मात्र देखेका छन्।"
बुधबार कराँची पुगेको नेपाली क्रिकेट टोलीले बिहीवार (आज)बाट नेशनल बैंक रंगशालामा प्रशिक्षण सुरु गरेको छ । नेपाललले २७ अगस्टमा मुल्तान प्रस्थान गर्नुअघि केही अभ्यास खेलहरू पनि खेल्ने बुझिएको छ । एसिया कपमा पाकिस्तानसँगको खेलपछि नेपालले सेप्टेम्बर ४ मा भारतसँग श्रीलंकामा खेल्नेछ ।
एसिया कपका लागि नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, प्रतिष्ठित जीसी, मौसम ढकाल, सन्दीप जोरा, किशोर महतो र अर्जुन साउद ।

टिप्पणी लेख्नुहोस्