लेख विवरण

दोस्रो एकदिवसीयमा पाकिस्तान १ विकेटले विजयी

दोस्रो एकदिवसीयमा पाकिस्तान १ विकेटले विजयी

काठमाडौंँ । एकदिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ । जितसँगै टोलीले ३ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ ।

श्रीलंकाको हम्बनटोटामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पाकिस्तानलाई ३ सय १ रनको लक्ष्य दिएको थियो । जवाफमा पाकिस्तानले ४९.५ ओभरमा ९ विकेट गुमाउदै जित हात पारेको हो । पाकिस्तानका नसिम शाहले अन्तिम ओभरको ५ औं बलमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

यसअघि अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज (१५१ रन)ले शतक प्रहार गरे । उनले इब्राहिम जाद्रानसँग २२७ रनको ओपनिङ साझेदारी गरे । जाद्रान ८० रन बनाएर आउट भए । मोहम्मद नाबीले २९ र राशिद खानले २ रन बनाए । शहिदुल्लाह १ रन बनाएर आउट भए । टोलीका कप्तान हस्मातुल्लाह शाहिदी १५ रन बनाएर नटआउट रहे भने अब्दुल रहमानले ४ रन बनाए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक २ विकेट लिए । उसामा मिर र नसिम शाहले १–१ विकेट लिए ।

पाकिस्तानी इनिङ्सको सुरुवात फखर जमान र इमाम उल हकले गरेका थिए । फखर ३० रन बनाएर आउट भए । तेस्रो नम्बरमा आएका बाबर आजमले इमामसँग ११८ रनको साझेदारी गरे। इमाम उल हक शतक बनाउनबाट चुके । उनले १०५ बलमा ९१ रनको इनिङ खेले। उता कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय पारी खेले । बाबर आउट भएपछी पाकिस्तानको विकेट खस्ने क्रम जारी रह्यो । मोहम्मद रिजवान २ रन, आगा सलमान १४ रन, उसामा मिर शून्य रन र इफ्तिखार अहमद १७ रन बनाएर आउट भए ।

त्यसपछि सातौं नम्बरमा आएर शादाब खानले खेलको ढाँचा नै परिवर्तन गरे । उनले ६६ बलमा ५१ रनको इनिङ खेले । खेललाई नजिक ल्याएका शादाब अन्तिम ओभरको दोस्रो बलमा रनआउट भए। यसपछि नसिम शाहले ४ बलमा ७ रन बनाएर खेल जिताए । अफगानिस्तानका स्पिनर फजल हक फारुकीले ३ विकेट लिए । मोहम्मद नाबीले २ सफलता हात पारे । यस्तै, मुजिब उर रहमान र अब्दुल रहमानले १–१ विकेट लिए ।

बिहीवारको खेलमा अफगानिस्तानले पाकिस्तानविरुद्ध एकदिवसीय क्रिकेटमा सर्वाधिक ठुलो स्कोर बनाएको छ । यसअघि टोलीले २०१८ मा अबुधाबीमा सर्वाधिक २५७ रन बनाएको थियो।


तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १४२ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको पाकिस्तानले ४७.१ ओभरमा २०१ रन बनाएको थियो । यससँगै अफगानिस्तानको टोली १९.२ ओभरमा मात्र ५९ रनमा अलआउट भएको थियो।

सिरिजको अन्तिम खेल २६ अगस्टका दिन कोलम्बोमा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.