एसिया कप २०२३ : श्रीलंकाका चार खेलाडी खेल्नेमा शंका
काठमाडौंँ । एसिया कप २०२३ यही अगस्ट ३० देखि श्रीलंका र पाकिस्तानमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल अगस्ट ३१ मा श्रीलंकाले घरेलु मैदानमा बंगलादेशसँग खेल्ने तय भएको छ । यस्तो अवस्थामा टोलीका चार खेलाडी खेल्नेमा शंका उत्पन भएको छ । तीव्र गतिका बलर दुष्मन्त चमेरा र लेग स्पिनर वानिन्दु हसरंगा घाइते छन् भने कुसल पेरा र अविष्का फर्नान्डोमा कोरोना पोजेटिभ देखिएको छ ।
क्रिकेट वेबसाइट क्रिकइन्फोका अनुसार श्रीलंका प्रिमियर लिगका क्रममा चमेराको काँधमा चोट लागेको थियो । उनले एसिया कपको कुनैपनि खेल खेल्न गाह्रो छ। यद्यपी श्रीलंका क्रिकेट बोर्डले चमेराको बिषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।
श्रीलंका टोलीका प्रबन्धक महिन्दा हलाङ्गोडाले क्रिकइन्फोलाई चमेरा एसिया कपबाट बाहिरिने सम्भावना रहेको बताए । बोर्डले यसको पुष्टि गर्न अर्को रिपोर्ट पर्खिरहेको उनले बताए। चमेरा हालै घुँडाको शल्यक्रियापछि टोलीमा फर्किएका थिए । उनले एकदिवसीय विश्वकप छनोट खेल पनि खेलेका थिएनन् । चमेराले आफ्नो अन्तिम एकदिवसीय खेल गत जुन ७ मा अफगानिस्तानविरुद्ध खेलेका थिए । उनी विश्वकप छनोट प्रतियोगिताको बीचमा अभ्यासका क्रममा घाइते भएका थिए ।
यता हसरङ्गाको तिघ्रामा समस्या देखिएको छ । जसका कारण उनले श्रीलंका प्रिमियर लिगको फाइनलमा समेत आफ्नो टोलीबाट खेल्न सकेनन् । उनको व्यवस्थापकका अनुसार हसरङ्गाले एशिया कपको पहिलो दुई खेल अर्थात बंगलादेश र अफगानिस्तानविरुद्ध खेल्न पाउने छैनन् ।
यदि श्रीलंकाली टोली समूह चरणभन्दा अगाडि बढ्यो भने टोली व्यवस्थापनले कुनै समस्याविना खेल्न सक्ने सुनिश्चित गरेपछि मात्रै प्लेइङ ११ मा समावेश गर्नेछ । एसिया कपपछि अक्टोबर ५ बाट विश्वकप सुरु हुने भएकाले उनको चोट थप गम्भीर बनोस् भन्ने टिम चाहँदैन । यस्तो अवस्थामा टोलीले उनलाई विश्वकपका लागि उपलब्ध गराउन चाहन्छ ।
उता ब्याट्सम्यान कुशल परेरा र अविष्का फर्नान्डोमा कोरोना संक्रमण देखिएको छ । दुवैलाई एसिया कपको टोलीमा समावेश गर्ने सम्भावना थियो । अब निको भएपछि मात्रै उनी एसिया कपको टोलीमा समावेश हुनेछन् । अहिले दुवै जना चिकित्सकको निगरानीमा छन् ।

टिप्पणी लेख्नुहोस्