विश्वकप अघि बटलरको उत्कृष्ट ब्याटिङ, म्यानचेस्टरलाई पुर्याए फाइनलमा
काठमाडौंँ । इंग्ल्याण्डमा जारी द हन्ड्रेड लिग पुरुष क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डका सीमित ओभर कप्तान जोस बटलरले उत्कृष्ट ब्याटिङ गरेका छन् । शनिबार ओभलमा म्यानचेस्टर ओरिजिनल्स र साउदर्न ब्रेभबीच भएको एलिमिनेशन खेलमा बटलरले २६ बलमा अर्धशतक बनाए । त्यसपछि म्यानचेस्टरका कप्तान बटलरले ४६ बलमा ८२ रनको धमाकेदार इनिङ खेलेर आफ्नो टोलीलाई फाइनलमा पुर्याए ।
बटलरको म्याच-विनिङ इनिङ्समा म्यानचेस्टरले लिगको इतिहासमा सबैभन्दा ठूलो रन लक्ष्य पछ्याउन सफल भयो। नकआउट खेलमा साउदर्न ब्रेभ्सले म्यान्चेस्टर ओरिजिनल्सलाई जितका लागि १९६ रनको लक्ष्य दिएको थियो । र बटलरको टोलीले सफलतापूर्वक लक्ष्य पूरा गर्यो।
पहिले ब्याटिङ गरेको साउदर्न ब्रेभ्सले १०० बलमा १ विकेट गुमाएर १९६ रन बनाएको थियो । टोलीका ओपनर फिन एलेन र डेभन कोनवेले ६५ बलमा १२२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । एलेनले ३८ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ६९ रन बनाए । योसँगै कोनवेले ३८ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित ५१ रन बनाए । साउदर्न ब्रेभ्सका कप्तान जेम्स भिन्सले २५ बलमा अविजित ५६ रन बनाए ।
१९७ रनको लक्ष्य पछ्याएको म्यान्चेस्टर ओरिजिनल्सका लागि फिलिप साल्ट र जोस बटलरले ३२ बलमा ८३ रनको साझेदारी गरे । साल्टले १७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन बनाए । त्यसपछि बटलरले ४६ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ८२ रन बनाउदै आफ्नो टोलीलाई फाइनलमा पुर्याए ।
म्यानचेस्टरले आठ खेलमध्ये छ खेल जितेर लिग चरणपछि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको फाइनल खेल आइतबार लण्डनको लर्ड्स क्रिकेट मैदानमा म्यानचेस्टर ओरिजिनल्स र ओभल इन्भिन्सिबलबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्