एसियाडका लागि भारतीय महिला फुटबल टोली घोषणा
काठमाडौंँ । सेप्टेम्बर २१ बाट सुरु हुने एसियाली खेलकुदका लागि भारतीय महिला फुटबल टोलीको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक थोमस डेनरबीले आइतबार टोलीको घोषणा गरेका हुन् । एसियाली खेलकुद अक्टोबर ६ गतेसम्म चीनको हाङ्जाओ शहरमा आयोजना हुँदैछ ।
फिफा वरियतामा ६१औँ स्थानमा रहेको भारतीय महिला टोलीलाई समूह बी मा चिनियाँ ताइपेई (३८औँ) र थाइल्याण्ड (४६औँ) सँग राखिएको छ। एसियाडमा भारतीय महिला फुटबल टोली तेस्रो पटक सहभागी हुँदैछ। यसअघि टोलीले बैंकक–१९९८ र इन्चोन–२०१४ एसियाडमा भाग लिइसकेको छ ।
भारतीय महिला टोलीकी नियमित कप्तान अदिति चौहान एसियाड टोलीमा परिनन् । उनी घुँडाको चोटका कारण उपचारको क्रममा रहेकी छिन् ।
भारतीय महिला तथा पुरुष फुटबल टोलीले एसियाली खेलकुदमा सहभागी हुन भारत सरकारबाट विशेष अनुमति पाएका छन् । यसअघि साईले चीनमा फुटबल टोली पठाउन अस्वीकार गरेको थियो। यस्तो अवस्थामा भारतीय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर टोलीलाई चिन जाने अनुमति दिन माग गरेका थिए ।
यसअघि सन् २०१८ को एसियाडमा भारतीय फुटबल टोलीलाई खेल्न अनुमति दिइएको थिएन। भारतीय टोलीले पछिल्लो पटक सन् २०१४ को एसियाडमा भाग लिएको थियो।
भारतीय खेलकुद मन्त्रालयको नियममा एसियाको टप ८ मा रहेका टोलीलाई मात्र टिम इभेन्टमा जान दिइने उल्लेख छ ।
एसियाड फुटबलमा कुल १७ टोली छन् । उनीहरुलाई पाँच समूहमा विभाजन गरिएको छ । समूह ‘ए’, ‘बी’ र ‘सी’ मा तीन–तीन टोली छन् भने समूह ‘डी’ र ‘इ’ मा चार–चार टोली छन् । पाँच समूह विजेता र तीन शीर्ष दोस्रो स्थानमा रहने टोली क्वार्टरफाइनलका लागि छनोट हुनेछन्।
भारतीय महिला फुटबल टोली :
गोलकिपरः श्रेया हुड्डा, सौम्य नारायणसामी, पन्थोई चानु।
डिफेन्डरः आशालता देवी, स्वीटी देवी, रितु रानी, डालिमा छिब्बर, अस्तम ओराँ, सञ्जु, रञ्जना चानु।
मिडफिल्डरः संगीता बासफोर, प्रियङ्का देवी, इन्दुमाथी कथिरेसन, अन्जु तामाङ, सौम्या गुगुलोथ, दाङ्मेई ग्रेस।
फरवार्डः प्यारी जक्सा, ज्योति, रेणु, बाला देवी, मनिषा, सन्ध्या रंगनाथन।
प्रशिक्षकः थमस डेनरबी।

टिप्पणी लेख्नुहोस्