क्रिकेटमा पहिलो पटक रातो कार्ड, खेलाडीलाई मैदान बाहिर पठाइयो
काठमाडौंँ । क्रिकेटमा स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्ड देखाइएको छ । यो नियम क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा प्रयोग भएको छ । आइतवार त्रिनबागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबीचको खेलमा पहिले फिल्डिङ गरेको नाइट राइडर्स टोलीले रातो कार्ड पाएको छ। राइडर्सले अन्तिम तीन ओभर ढिलो बलिङ गरेपछि टोली आवश्यक ओभर रेटमा पछाडि परेको थियो ।
जसका कारण १९ औं ओभरपछि अम्पायरले टोलीलाई रातो कार्ड देखाएका थिए । कार्ड पाएपछि राइडर्सका कप्तान किरोन पोलार्डले अन्तिम ओभरमा स्पिनर सुनिल नारायणलाई मैदानबाट बाहिर पठाएका थिए । त्यसअघि नारायणले आफ्नो बलिङको ४ ओभर पूरा गरिसकेका थिए । अन्तिम ओभरमा राइडर्सका १० खेलाडी मात्रै मैदानमा थिए ।
क्रिकेटमा स्लो ओभर रेटका कारण रातो कार्ड देखाइएको यो पहिलो पटक हो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायर बिली बाउडेनले सन् २००५ मा न्युजिल्यान्डविरुद्धको टी–२० खेलमा अण्डरआर्म बल फाल्दा अस्ट्रेलियाका ग्लेन म्याकग्रालाई रातो कार्ड देखाएका थिए ।
खेलपछि नाइट राइडर्सका कप्तान पोलार्डले रातो कार्डको नियमलाई ‘हास्यास्पद’ भनेका छन् । पोलार्डले भने, "इमानदारीपूर्वक भन्नुपर्दा यस्तो हुँदा खेलाडीको मेहनत खेर जानेछ । हामीलाई जुन कुरा भनिएको छ, हामी त्यही गर्छौं। हामी सकेसम्म छिटो खेल्नेछौं। तर यस प्रकारको प्रतियोगितामा ३०-४० सेकेन्डको लागि रातो कार्ड देखाउनु, यो बिल्कुल हास्यास्पद छ।"
नियम अनुसार टी–२० क्रिकेटमा एक इनिङ ८५ मिनेटको हुन्छ । १७ औं ओभर ७२ मिनेट १५ सेकेन्डमा, १८ औं ओभर ७६ मिनेट ३० सेकेन्डमा, १९ औं ओभर ८० मिनेट ४५ सेकेण्डमा र २० औं ओभर ८५ मिनेटमा पूरा गर्नुपर्ने हुन्छ। सीपीएलका अधिकारीले भने, ‘हामी सिपिएलको नयाँ सिजनमा ध्यान राख्नेछौँ र खेलको प्रत्येक इनिङ निर्धारित समयमा समाप्त गर्ने प्रयास गर्नेछौँ ।
आइतबार बसेटेरेमा भएको खेलमा त्रिनबागो नाइट राइडर्सले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ६ विकेटले पराजित गरेको थियो । नाइट राइडर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । प्याट्रियट्सले निर्धारित २० ओभरमा १७८ रन बनाएको थियो । जवाफमा निकोलस पूरन, कप्तान किरोन पोलार्ड र आन्द्रे रसेलले १७९ रनको लक्ष्य १७.१ ओभरमा १७ बल बाँकी रहँदै पुरा गरेका थिए । निकोलस पूरन ३२ बलमा ६१ रन बनाएर प्लेयर अफ द म्याच भएका थिए ।

टिप्पणी लेख्नुहोस्