लेख विवरण

एसिया कपमा नेपालको प्रमुख हथियार सन्दीप

एसिया कपमा नेपालको प्रमुख हथियार सन्दीप

काठमाडौंँ । एसिया कपमा क्रिकेटमा नेपालको प्रमुख हथियारको रुपमा सन्दीप लामिछानेलाई लिइन्छ् । सन्दीपले विकेट लिने मात्र होइन टोलीलाई आवश्यक परेको बेला तल्लो क्रममा ब्याटिङ पनि गर्न सक्छन् ।

लेग स्पिनर लामिछाने नेपालका लागि १०० भन्दा बढी विकेट लिने एकमात्र बलर हुन् । उनले १७.३ को औसतमा १०० भन्दा बढी विकेट लिने कुनै पनि पुरुष खेलाडीभन्दा राम्रो रेकर्ड बनाएका छन् । यो मापदण्डमा उनी जोएल गार्नर (१८.८), राशिद खान (१९.०), डेनिस लिली (२०.८) र शेन बन्ड (२०.९) भन्दा अगाडि रहेका छन्।

यस बाहेक लामिछानेले सन् २०२१ पछि एकदिवसीय क्रिकेटको ३८ इनिङमा ८८ विकेट लिएका छन् । ११ देखी ४० ओभरकोबीचमा उनले ३६ इनिङ्समा ६२ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा आफुलाई राखेका छन् । यस क्रममा उनको उत्कृष्ट औसत (१६.१) रहेको छ र इकनोमी (३.८०)का हिसाबले उनी विश्वकै तेस्रो नम्बरमा छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । एसिसी प्रिमियर कपमा कतारविरुद्ध उनले ५८ बलमा ६ चौकासहित ४२ रनको अविजित पारी खेलेका थिए । आइसिसी विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध सन्दीले अविजित ३५ रन बनाएका थिए ।

एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा टेस्ट मान्यता प्राप्त आयरल्यान्डविरुद्ध धर्मराइरहेको नेपालको ब्याटिङलाई सन्दीपले गुल्शन झासँग मिलेर २६८ रनको बलियो स्कोरमा पुर्‍याएका थिए । यसअघि यूएईविरुद्धको खेलमा उनले दीपेन्द्रसिंह ऐरीसँग ‘म्याच विनिङ पार्टनरसीप’ गरेका थिए ।

नेपाललाई आवश्यक परेको बखत बलिङ र ब्याटिङमा आफ्नो शत प्रतिशत दिन सक्ने सन्दीपले एसिया कपमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने विश्वास नेपाली दर्शकहरुले लिएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.