शुक्रवारदेखी विराटनगरमा विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुँदै
विराटनगर । शुक्रवारदेखी विराटनगरमा ‘चौथो विद्यालयस्तरीय बास्केटबल’ प्रतियोगिता आयोजना हुँदैछ ।
विराटनगर बास्केटबल एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिताको उदेश्य खेलको विकास र विद्यार्थीहरुलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरुको व्यक्तित्व विकास गर्ने रहेकोे प्रतियोगिताका संयोजक त्रिलोक बाँस्तोलाले जानकारी दिए ।
विद्यालयस्तरबाट खेलप्रति आकर्षित गराउन सके राम्रो खेलाडी उत्पादन गर्न सकिने बताउँदै, संयोजक बाँस्तोलाले भने, ‘खेलकुदले एउटा खेलाडी उत्पादन मात्रै गर्ने नभई एउटा सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्छ । सानैदेखि खेलकुदप्रति आकर्षित गर्न सके युवापुस्ता लागुऔषध दुव्र्यसनी हुनबाट जोगाउन सकिन्छ ।’
भदौ २९ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका ८ वटा निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका छन् । सगरमाथा, बिकेभिएम, डिपिएस, डनबोस्को, एभरेष्ट, अरनिको, पोखरिया, सेन्टजोसेफ स्कुलको प्रतियोगितामा सहभागिता रहेको छ ।
होम एण्ड अवेका आधारमा हुने प्रतियोगितामा दुई समूहमा विभाजन गरी लिग खेल हुने छन् । प्रतियोगिताको विजेता तथा उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने व्यक्तिगत म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडीले पुरस्कार प्राप्त गर्ने छन् । गत वर्ष प्रतियोगिताको उपाधि बिकेभिएम स्कुलले जितेको थियो । शुक्रबार एभरेष्ट स्कुलको कोर्टमा हुने उद्घाटन खेल एभरेष्ट र डिपिएस स्कुलबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्