लेख विवरण

यू–१६ राष्ट्रिय टोलीका कप्तान तिवारीलाई जन्मथलोमा सम्मान

यू–१६ राष्ट्रिय टोलीका कप्तान तिवारीलाई जन्मथलोमा सम्मान

जलेश्वर । यू–१६ राष्ट्रिय क्रिकेट टोलीका कप्तान अभिषेक तिवारीलाई महोत्तरीको मनरासिसवा नगरपालिकाले सम्मान गरेको छ ।

नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेले बुधबार एक समारोहबीच तिवारीलाई खादा लगाई ५१ हजार रुपियाँ र कदरपत्रसहित सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले सानै उमेरमा क्रिकेटको माध्यमले आफ्नो मुलुक र जन्मथलोको नाम उच्च राख्न पुर्‍याएको योगदानको कदर गर्दै तिवारीलाई सम्मान गरेको बताए । उनले यो सम्मानले प्रतिभावन खेलाडीको मनोबल उच्च बनाउनुका साथै अरूका लागिसमेत प्रेरक र अनुकरणीय हुने विश्वास लिएको बताए ।

मनरासिसवा नगरपालिका ८ स्थित सहराम कप्तान तिवारीको जन्म स्थल र पुर्ख्यौली थलोसमेत हो । आफ्नो पुर्ख्यौली थलोमा पाएको सम्मानप्रति हर्ष र आभार प्रकट गर्दै कप्तान तिवारीले अब यू–१९ को तयारीमा जुट्ने बताए । उनले हरेक सफलताको पछाडि जननी र जन्मभूमिको स्नेह र आशीर्वाद रहने गरेको अनुभव सुनाए ।

जन्मभूमिमा पाएको सम्मानले आफुलाई गौरवान्वित पार्नुका साथै हौसलासमेत थपेको कप्तान तिवारीले बताए । उनले नगरपालिका, नगर प्रमुखलगायत सम्पूर्ण नगरवासीप्रति आभार प्रकट गरे । कप्तान तिवारीले नेपालको प्रतिनिधित्व गरि यू–१६ अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.