लेख विवरण

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो ट्रान्सजेन्डर बन्दै म्याकगाहे

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो ट्रान्सजेन्डर बन्दै म्याकगाहे

काठमाडौंँ । क्यानडाकी डेनियल म्याकगाहे ब्राजिल विरुद्ध २०२४ को टी २० विश्वकप छनोट खेल्ने क्रममा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो ट्रान्सजेन्डर क्रिकेटर बन्नेछिन्। सन् २०२४ को टी–२० विश्वकपका छनोट खेलहरु सेप्टेम्बर ४ देखि ११ सम्म लस एन्जलसमा खेलाइनेछ ।

२९ वर्षीया म्याकगाहे अर्को महिना हुने छनोट प्रतियोगिताका लागि क्यानडाली महिला टोलीमा छनोट भएकी छिन् । उनले पुरुषबाट महिला ट्रान्सजेन्डर खेलाडीका लागि आईसीसीको योग्यता मापदण्ड पूरा गरेकी छिन्।

ग्लोबल क्वालिफायरका लागि अमेरिकी छनोटमा क्यानडाले अर्जेन्टिना, ब्राजिल र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । म्याकगाहेले बीबीसी स्पोर्टलाई भनीन "म गर्व महसुस गर्छु। मेरो समुदायको प्रतिनिधित्व गर्ने मेरो सपना साकार भएको छ।"

म्याकगाहे सन् २०२० नोभेम्बरमा पुरुषबाट महिलामा परिणत भएकी थिइन् । उनले सन् २०२१ मे महिना देखि मेडिकल मेकओभर सुरु गरिन्। म्याकगाहे सन् २०२० को फेब्रुअरीमा अस्ट्रेलियाबाट क्यानडा आएकी थिइन् । आईसीसीले २०१८ मा जारी गरेको क्रिकेटरको योग्यतासम्बन्धी नियममा ट्रान्स महिलाले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न चाहेमा कम्तिमा १२ महिनासम्म आफ्नो रगतमा टेस्टोस्टेरोनको मात्रा ५ न्यानोमोल प्रति लिटरभन्दा कम राख्नुपर्ने स्पष्ट पारेको छ ।

आईसीसीले यसबारे एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'हामी पुष्टि गर्न सक्छौं कि म्याकगाहेले आईसीसीको योग्यता सर्तहरू पूरा गरेका छन् र उनी अन्तर्राष्ट्रिय महिला क्रिकेट खेल्न योग्य छिन्।'

म्याकगाहेले भनिन, "मैले मेरो टेस्टोस्टेरोनको स्तर जान्नको लागि विगत दुई वर्षदेखि हरेक महिना रगत परीक्षण गराइरहेको छु। क्रिकेट खेल्दा यति धेरै यात्रा गर्नुपर्‍यो कि यो अलि अप्ठ्यारो थियो। मलाई गर्व छ, मेरो लागि मात्र होइन । मैले प्रतिनिधित्व गरेको ट्रान्सजेन्डर समुदायको लागि हो।"

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.