जिम्बाब्वेका अलराउन्डर हिथ स्ट्रीकको निधन
काठमाडौंँ । जिम्बाब्वेका पूर्व कप्तान तथा अलराउन्डर हिथ स्ट्रीकको निधन भएको छ । स्ट्रीकलाई कलेजोको क्यान्सर भएको थियो । उनी गत मे महिनादेखि दक्षिण अफ्रिकाको जोहानेसबर्ग स्थित एक अस्पतालमा उपचार गराइरहेका थिए। स्ट्रीक ४९ वर्षका थिए र उनको श्रीमती र तीन छोराछोरी छन्।
स्ट्रीक सन् १९९० को दशकमा जिम्बाब्वे टोलीका प्रमुख खेलाडी थिए। सन् १९९३ देखि २००५ सम्म उनले जिम्बाब्वेका लागि ६५ टेस्टका साथै १ सय ८९ ओडीआई खेलेका थिए। स्ट्रीकले टेष्टमा कुल २ सय १६ विकेट र एकदिवसीयमा २ सय ३९ विकेट लिएका थिए । उनी जिम्बाब्वेबाट १०० भन्दा बढी टेस्ट र २०० भन्दा बढी एकदिवसीय विकेट लिने एकमात्र बलर थिए। उनले टेस्टमा कुल १ हजार ९ सय ९० रन बनाए, साथै स्ट्रीक टेस्ट क्रिकेटमा जिम्बाब्वेका लागि सातौं सर्वाधिक रन बनाउने खेलाडी बने। उनले एकदिवसीय क्रिकेटमा पनि २ हजार ९ सय ४३ रन बनाएका थिए ।
स्ट्रीकले भारतको बेंगलुरुमा भएको हिरो कपको दौरान दक्षिण अफ्रिकाविरुद्ध आफ्नो पहिलो एकदिवसीय खेल खेलेको थियो। सोही वर्ष उनले पाकिस्तानविरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । उनले आफ्नो दोस्रो टेस्टमा आठ विकेट लिएका थिए।
पाकिस्तान उनको मनपर्ने विपक्षी टोली मध्ये एक थियो। उनले पाकिस्तानविरुद्ध सबैभन्दा बढी (४४) टेस्ट विकेट लिएका थिए। उनले टेस्ट क्रिकेटमा सात पटक, पाकिस्तानविरुद्ध तीन पटक पाँच वा सोभन्दा बढी विकेट लिएका थिए।
आफ्नो डेब्यूपछि स्ट्रीक आठ टेस्ट म्याचहरूको एक हिस्सा थियो जसमा जिम्बाब्वे विजयी भएको थियो। स्ट्रीकले तीन ओडीआई विश्वकप (१९९६, १९९९, २००३) मा पनि खेले। सन् १९९९ को विश्वकपमा जिम्बाब्वेको टोलीले भारत र दक्षिण अफ्रिकाविरुद्ध जित हासिल गरेको थियो।यस क्रममा उनले भारतविरुद्ध ३६ रनमा तीन विकेट र दक्षिण अफ्रिकाविरुद्ध ३५ रनमा तीन विकेट लिएका थिए । उनी सन् २००० मा जिम्बाब्वेको कप्तान बने ।
सन् २००१ मा स्ट्रीकले आधिकारिक रूपमा कप्तानीबाट राजीनामा दिएका थिए। त्यसबेला उनले कप्तानीका कारण आफ्नो प्रदर्शन प्रभावित भएको बताएका थिए । यद्यपि यसको पछाडि व्यक्तिगत र राजनीतिक कारण रहेको विश्वास गरिन्छ।

टिप्पणी लेख्नुहोस्