एसिया कप सुपर–४ : पहिलो खेलका लागि पाकिस्तानको प्लेइङ इलेभेन घोषणा
काठमाडौंँ । एसिया कप क्रिकेटमा आजदेखि सुपर–४ चरणका खेलहरु हुँदैछन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सुपर–४ मा पुगेका टोली हुन् । आज सुपर–४ को पहिलो खेल पाकिस्तान र बंगलादेशबीच लाहोरमा हुँदैछ । यस खेलका लागि पाकिस्तानले प्लेइङ इलेभेन घोषणा गरेको छ ।
पाकिस्तानले जारी एसिया कपमा अहिलेसम्म दुई खेल खेलेको छ । आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई पराजित गरेको थियो । भारतसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । यी दुवै खेलमा पाकिस्तानको प्लेइङ इलेभेन एउटै थियो ।
पाकिस्तानका कप्तान बाबर आजमले सुपर–४ चरणको आफ्नो पहिलो खेलका लागि प्लेइङ ११ घोषणा गरेका छन् । पाकिस्तानको प्लेइङ इलेभेनमा एक परिवर्तन गरिएको छ । स्टार अलराउन्डर मोहम्मद नवाज टिमबाट बाहिरिएका छन् । उनको स्थानमा फास्ट बलिङ अलराउन्डर फहिम अशरफलाई समावेश गरिएको छ । फास्ट बलिङसँगै फहिमले तल्लो क्रममा पनि राम्रो ब्याटिङ गर्न सक्छन्।
बंगलादेशविरुद्धको खेलमा पाकिस्तानी टोली एक स्पिनरसहित मैदानमा उत्रिनेछ । लेग स्पिनर शादाब खान टोलीको मुख्य स्पिनर हुनेछन्। तर, टोलीमा सलमान आगा र इफ्तिखार अहमदको रूपमा दुई पार्टटाइम स्पिनर छन् । दुवैले आवश्यक पर्दा राम्रो बलिङ गर्न सक्छन्।
बंगलादेशविरुद्ध पाकिस्तानको प्लेइङ इलेभेनः इमाम उल हक, फखर जमान, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर), इफ्तिखार अहमद, सलमान अली आगा, शादाब खान, फहीम अशरफ, शाहीन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह ।

टिप्पणी लेख्नुहोस्