एसिया कप २०२३ : आजदेखि सुपर–फोर चरण सुरु, यी चार टोलीबीच ६ खेल हुँदै
काठमाडौंँ । सन् २०२३ को एसिया कपमा आजदेखि सुपर–फोर चरणका खेलहरु हुँदैछन् । प्रतियोगितामा कुल ६ टोलीको सहभागिता रहेको थियो । सुपर–फोरमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश छनोट भएका छन् । सुपर–फोर अन्तर्गतको पहिलो खेल आज बंगलादेश र पाकिस्तानबीच हुँदैछ ।
सुपर–फोर चरणमा कुल ६ खेलहरू खेलिनेछन्। यसपछि अंक तालिकाको शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।
समूह ‘ए’ बाट भारत र पाकिस्तानका टोली सुपर–फोर राउण्डमा पुगेका छन् । भारत र पाकिस्तानको ३–३ अंक छ । यससँगै नेपाल समूह ‘ए’ बाट बाहिरिएको छ भने श्रीलंका र बंगलादेश समूह ‘बी’ बाट सुपर–फोर चरणमा पुगेका छन् । यस समूहबाट अफगानिस्तान सुपर–फोर राउण्डमा पुग्न सकेन । श्रीलंका ४ अंकसहित सुपर–फोर चरणमा पुगेको हो । टोलीले बंगलादेश र अफगानिस्तानलाई हराएको थियो। बंगलादेश २ अंकसहित सुपर फोर चरणमा पुगेको छ । शकिब अल हसनको टोलीले श्रीलंकासँग हार बेहोरेको थियो भने अफगानिस्तानलाई पराजित गरेको थियो ।
सुपर–फोर चरणको खेल तालिका र स्थान :
सेप्टेम्बर ६ : पाकिस्तान विरुद्ध बंगलादेश (लाहोर)
सेप्टेम्बर ९ : श्रीलंका विरुद्ध बंगलादेश (कोलम्बो)
सेप्टेम्बर १० : पाकिस्तान विरुद्ध भारत (कोलम्बो)
सेप्टेम्बर १२ : भारत विरुद्ध श्रीलंका (कोलम्बो)
सेप्टेम्बर १४ : पाकिस्तान विरुद्ध श्रीलंका (कोलम्बो)
सेप्टेम्बर १५ : भारत विरुद्ध बंगलादेश (कोलम्बो)
सेप्टेम्बर १७ : फाइनल (कोलम्बो)
लाहोरमा पाकिस्तान र बंगलादेशबीचको सुपर–फोर खेलपछि एसिया कप २०२३ का बाँकी सबै खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा खेलाइनेछ । पाल्लेकेले जस्तै कोलम्बोमा पनि वर्षाले खेल अवरुद्ध गर्ने सम्भावना छ। यस्तो अवस्थामा खेल रद्द हुने खतरा पनि छ ।

टिप्पणी लेख्नुहोस्