लेख विवरण

युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुँदै

युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुँदै

नवलपरासी । नवलपरासी जिल्लाकै पुरानो खेलकुद प्रतियोगिता युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा विगत ३७ वर्षअघिदेखि सञ्चालित उक्त प्रतियोगिता यस वर्ष भदौ २२ गतेदेखि सुरु हुने भएको खेल संयोजक प्रेमध्वज सारुले बताए ।

युनाइटेड युवा क्लबले नियमित सञ्चालन गर्दै आएको सो प्रतियोगितालाई जिल्लाकै गौरवको प्रतियोगिताका रुपमा लिने गरिएको छ । यस वर्ष भदौ २२ देखि ३७औँ संस्करण हुप्सेकोट–३ स्थित सरस्वती माविको खेलमैदानमा सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित ३७औँ संस्करणको तयारीमा जुटेका छौँ, करिब हाम्रो तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक सारुले बताए ।

प्रतियोगितामा विजेता हुने टोलीले रु दुई लाख २५ हजार पाँच सय ५५ र उपविजेताले रु एक लाख ३५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सेमिफाइनलमा पुगेर बाहिरिने दुई टोलीले जनही रु २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित टोलीलाई समेत पुरस्कृत गरिने क्लबका अध्यक्ष हरि थापाले बताए ।

प्रतियोगितामा नवलपरासी पूर्व र पश्चिम, रूपन्देही, चितवन, काठमाडौँलगायत जिल्लाका गरी करिब एक दर्जन क्लबको सहभागिता रहने र सहभागी क्लबले एउटा टोलीमा बढीमा तीनजना मात्रै विदेशी खेलाडी समावेश गर्न पाउने अध्यक्ष थापाको भनाइ थियो। यसअघि एउटै टोलीमा धेरै विदेशी खेलाडी समावेश गराउने गरिएकामा यस वर्ष तीनजना मात्रै एउटा क्लबले विदेशी खेलाडी सहभागी गराउन पाउने नियम बनाइएको उनले बताए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.