लेख विवरण

राइनो गोल्डकप सञ्चालन गर्ने तयारी

राइनो गोल्डकप सञ्चालन गर्ने तयारी

नवलपरासी । आर्थिक व्यवस्थापनमा समस्या भएसँगै केही वर्षदेखि सञ्चालन हुन नसकेको राइनो गोल्ड कप फुटबल प्रतियोगिता यस वर्ष सञ्चालनका लागि तयारी गरिएको छ । गैँडालगायत वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले जिल्लाको मध्यविन्दु नगरपालिका–२ मा सञ्चालन हुने गरेको सो गोल्डकप विगत तीन वर्षदेखि सञ्चालन हुन सकेको छैन ।

वन्यजन्तु संरक्षणको सन्देश दिने देशकै प्रतिष्ठित प्रतियोगिताका रूपमा विगतमा आयोजना हुने गरेको प्रतियोगिता सञ्चालनका लागि सरोकारवालासँग छलफल चलिरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले बताए ।

गण्डकी प्रदेशले समेत वन्यजन्तु संरक्षण फुटबल गोल्ड कप शीर्षकमा रु १० लाख विनियोजन गरेको र स्थानीय सरोकारवालाले विगतमा सञ्चालित उक्त गोल्डकपलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको उनको भनाइ थियो ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले नवलपुरमा हुँदै आएको राइनो गोल्डकप प्रतियोगिता सञ्चालनका लागि प्रदेश सरकारले समेत रकम विनियोजन गरेकाले परिषद्ले समेत समन्वय गरिरहेको बताए ।

“यो हाम्रो क्षेत्रको मात्रै हैन, गैँडा र वन्यजन्तु संरक्षणको सन्देश दिने देशकै प्रतिष्ठित प्रतियोगिता हो, यसलाई पुनः सञ्चालन गर्ने गरी छलफल र समन्वय भइरहेको छ”, क्लवका अध्यक्ष दोमनबहादुर भण्डारीले भने । सो प्रतियोगिताका लागि विगतमा विभागीय क्लबसहित देशका ‘ए’ डिभिजनका क्लबहरू सहभागी हुने गरेका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.