ब्याडमिन्टनका अम्पायर अर्याल एसियाली खेलकुदका लागि छनोट
काठमाडौंँ । चीनको हाङ्झाउ शहरमा हुने एसियाली खेलकुदका लागि नेपालबाट ब्याडमिन्टनका पूर्व अन्तर्राष्ट्रिय अम्पायर तथा राष्ट्रिय रेफ्रि उदय अर्याल छनोट भएका छन् ।
ब्याडमिन्टन एसियाले नेपालबाट क्षमता र दक्षताका अधारमा अर्याललाई अन्तराष्ट्रिय टेक्निकल अफिसियलको रुपमा एसियाली खेलकुदका लागि छनोट गरेको हो । यससँगै एसियाली खेलकुदमा नेपालका लागि ब्याडमिन्टन तर्फ टेक्निकल अफिसियलको रुपमा सहभागि हुने उनी पहिलो नेपाली बन्ने छन् ।
विराटनगर मिल्स एरियाका अर्यालले यसअघि सन् २०२० मा आयोजना भएको पाराओलम्पिकमा पनि ब्याडमिन्टन वर्ल्ड फेडरेशन (विडब्लुएफ) द्धारा मान्यता प्राप्त इन्टरनेशनल लाइन जजको रुपमा कार्य गरि सकेका छन् । वि.सं २०४४ सालदेखी राष्ट्रिय ब्याडमिन्टन अम्पायरका रुपमा कार्य गरेका अर्यालले अब एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन खेलमा अन्तराष्ट्रिय लाइन जजको भुमिका निर्वाह गर्नेछन ।
अर्यालका अनुसार ब्याडमिन्टनतर्फ नेपालबाट प्रतियोगितामा महिला र पुरुष गरी दुइटा टिम सहभागी हुँदैछन् । अर्याल सेप्टेम्बर २५ मा चीन प्रस्थान गर्नेछन् ।
एसियाली खेलकुदको १९ औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदैछ । एसियन गेम हरेक चार वर्षमा हुनेगर्छ ।
४० खेल हुने प्रतियोगितामा ४५ देशका साढे १२ हजारभन्दा बढी खेलाडीले भाग लिनेछन् । एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्यान्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउँदैछ ।

टिप्पणी लेख्नुहोस्