बेनीमा ९–ए साइड खुल्ला महिला फुटबल प्रतियोगिता सुरु
म्याग्दी । म्याग्दीको बेनीमा आजबाट अन्तरमाध्यमिक विद्यालयस्तरीय ९–ए साइड खुल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू दोभान युवा क्लब बेनीले आयोजना गरेको प्रतियोगितामा म्याग्दी तथा बागलुङका १० माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बेनी सामुदायिक विद्यालयले बेनी बोर्डीङलाई ९–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै अर्को खेलमा प्रकाश माध्यमिक विद्यालय बेनीले ओएसिस स्कुल बागलुङलाई ८–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै बालमन्दिर माध्यमिक विद्यालय बेनीलाई ५–० गोल अन्तरले पराजित गर्दै न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले दोस्रो चरणमा प्रवेश गरेको छ । अन्य खेलहरुमा जनप्रिय माध्यमिक विद्यालयले गलेश्वरले आदर्श बोर्डीङ स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगितामा पहिलो हुनेले ४५ हजार रुपियाँ र दोस्रो हुनेले २५ हजार रुपियाँ नगद, मेडल र ट्रफि प्राप्त गर्ने न्यू दोभान युवा क्लबले जनाएको छ । क्लबका अनुसार अनुशासित टिमलाई पाँच हजार रुपियाँ, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही तीन–तीन हजार रुपियाँका दरले नगदसहित ट्रफि प्रदान गरिने छ ।

टिप्पणी लेख्नुहोस्