अन्ततः तोडियो सचिन तेन्दुलकरको शतक रेकर्ड
काठमाडौंँ । क्रिकेटका भगवान भनिने सचिन तेन्दुलकरले आफ्नो ब्याटबाट विश्वका कैयौं कीर्तिमान तोडे र बनाए, जुन अन्य खेलाडीले सोच्न पनि सक्दैनन् । विशेष गरी जब सबैभन्दा धेरै शतक बनाउने कुरा आउँछ, मास्टर ब्लास्टरसँग अन्य कुनै खेलाडीले प्रतिस्पर्धा गर्न सक्दैनन्। तर अब सचिनको शतक रेकर्ड तोडिएको छ । अहिले दक्षिण अफ्रिकी टोलीले अष्ट्रेलियासँग ५ म्याचको एकदिवसीय सिरिज खेलिरहेको छ । यस सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले उत्कृष्ट शतक प्रहार गरेका छन् । योसँगै वार्नरले सचिन तेन्दुलकरको कीर्तिमान पनि तोडेका छन् ।
डेभिड वार्नरले ओपनरको रूपमा अन्तर्राष्ट्रिय शतकको मामिलामा सचिन तेन्दुलकरलाई पछि पारेका छन्। तेन्दुलकरले ओपनरको रूपमा ४५ शतक बनाएर यो कीर्तिमान आफ्नो नाममा राखेका थिए । उनले ३४२ अन्तर्राष्ट्रिय इनिङ्समा ओपनिङ ब्याट्सम्यानको रुपमा ४५ शतक बनाएका थिए, ती सबै एकदिवसीय क्रिकेटमा मात्रै रहेका छन्। वार्नरले दक्षिण अफ्रिकाविरुद्ध ब्लोमफन्टेनमा शतक बनाएर सचिनभन्दा अगाडि भएका छन् । वार्नरसँग आफ्नो करियरमा अहिले ४६ अन्तर्राष्ट्रिय शतकहरू रहेका छन्, र ती सबै क्रिकेटका तीनवटै ढाँचामा ओपनिङ ब्याट्सम्यानको रूपमा बनेका छन्। वार्नरले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा ९३ बलमा १०६ रनको इनिङ खेलेका थिए । यस इनिङ्समा उनले १२ चौका र ३ छक्का प्रहार गरे ।
वार्नरले आफ्नो करियरमा २० ओडीआई, २५ टेस्ट र एक टी(२० मा शतक बनाएका छन्। वार्नरले तीनवटै फर्म्याटमा आफ्नो टोलीका लागि ओपनिङ ब्याट्सम्यानको रुपमा खेल्दै आएका छन् । जबकि तेन्दुलकर टेष्टमा चौथो नम्बरमा ब्याटिङ गर्थे र सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेपछि उनले टी–२० खेलेका थिएनन् ।
ओपनरका रूपमा सर्वाधिक शतक प्रहार गर्ने अन्य ब्याट्सम्यानमा क्रिस गेल (४२), सनथ जयसूर्या (४१), र म्याथ्यू हेडन (४०) रहेका छन्। वर्तमान भारतीय कप्तान रोहित शर्माले पनि आफ्नो करियरमा ओपनरका रुपमा ३९ अन्तर्राष्ट्रिय शतक बनाएका छन् र यो सूचीमा उनी छैठौं स्थानमा रहेका छन् ।

टिप्पणी लेख्नुहोस्