श्रीलंकासँग पराजित हुँदै बंगलादेश एसिया कपबाट बाहिरियो
काठमाडौंँ । एसिया कप सुपर–४ चरणको दोस्रो खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ । गर या मर खेलमा बंगलादेशी टोली २१ रनले पराजित भएको हो । हारसँगै शकिब अल हसनको टोली सन् २०२३ को एसिया कपबाट बाहिरिएको छ । एकदिवसीय क्रिकेटमा श्रीलंकाको यो लगातार १३औं जित हो।
बंगलादेशले जितका लागि २५८ रनको लक्ष्य पाएको थियो । तर शकिब अल हसनको टोली ४८.१ ओभरमा मात्र २३६ रनमा सिमित भयो । बंगलादेशका लागि तौहिद हृदयोयले ९७ बलमा सर्वाधिक ८२ रन बनाए । उनले आफ्नो पारीमा ७ चौका र १ छक्का प्रहार गरे । यससँगै ओपनर मोहम्मद नइम र मेहन्दी हसन मिराजले पहिलो विकेटका लागि ११.१ ओभरमा ५५ रन जोडे। तर, बंगलादेशका अधिकांश ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरे । फलस्वरूप शकिब अल हसनको टोली लक्ष्यमा पुग्न सकेन ।
श्रीलंकाका लागि महिष तिक्षिना, कप्तान दासुन शनाका र मथिसा पाथिरानाले ३–३ विकेट लिए । दुनिथ भेलेगेलेले १ विकेट लिए । यसअघि बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएको थियो । श्रीलंकाका लागि कुसल मेन्डिस र सादिरा समाराविक्रमाले अर्धसतक प्रहार गरे । कुसलले ७३ बलमा ५० रन बनाए । उनले आफ्नो पारीमा ६ चौका र १ छक्का प्रहार गरे । सादिराले ७२ बलमा ९३ रनको योगदान दिए । बंगलादेशका हसन महमुद र तस्किन अहमदले ३–३ विकेट लिए । शोरिफुल इस्लामले २ खेलाडीलाई आउट गरे ।

टिप्पणी लेख्नुहोस्