विश्वकप छनोट खेलमा नेयमारले तोडे पेलेको कीर्तिमान
काठमाडौंँ । सन् २०२६ को फुटबल विश्वकप छनोट खेलमा ब्राजिलले बोलिभियालाई ५–१ ले पराजित गरेको छ । यस खेलमा ब्राजिलका लागि नेयमारले उत्कृष्ट प्रदर्शन गरे । उनले खेलमा दुई गोल गर्दै जितमा महत्वपूर्ण भूमिका खेले । दुई गोल गरेसँगै नेयमारले महान फुटबलर पेलेको ठूलो कीर्तिमान तोडेका छन् ।
नेयमारलाई विश्वका उत्कृष्ट फुटबल खेलाडीमा गनिन्छ । नेयमारले विश्वकप छनोटमा बोलिभियाविरुद्ध टोलीका लागि चौथो र पाँचौं गोल गरेका थिए। योसँगै उनले ७९ गोल गरेका छन् र ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यो मामिलामा उनले महान फुटबलर पेलेलाई पछाडि छोडेका छन् । ब्राजिलका लागि पेलेले ७७ गोल गरेका छन् । गत वर्ष डिसेम्बरमा ८२ वर्षको उमेरमा पेलेको निधन भएको थियो ।
बोलिभियाविरुद्धको विश्वकप छनोटको खेलमा नेयमारले ६१ औं मिनेटमा गोल गरेका थिए । अमेजन शहर बेलेममा आफ्नो उनले ७८औं गोल गरे, जसले पेलेको ७७ गोलको कीर्तिमानलाई उछिन्न सफल भए। नेयमारले खेलको १७ औं मिनेटमा एउटा पेनाल्टी पनि मिस गरेका थिए । यो कीर्तिमानी गोल गरेपछि, नेमारले पेलेले जस्तै हावामा मुट्ठी हानेर खुसी मनाए। नेयमारले हालै पेरिस सेन्ट जर्मेन छाडेर साउदी अरेबियाको क्लब अल हिलालबाट खेल्न थालेका छन् ।
अन्तर्राष्ट्रिय फुटबल खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले २०१ खेलमा १२३ गोल गरेका छन् । दोस्रो स्थानमा इरानका अली दाइ छन् । उनले १०९ गोल गरेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सी १०४ गोलसहित तेस्रो स्थानमा छन् । योसँगै नेयमारले ब्राजिलका लागि १२५ खेलमा ७९ गोल गरेका छन् र फुटबलमा सर्वाधिक गोल गर्नेको आधारमा १० नम्बरमा छन् ।

टिप्पणी लेख्नुहोस्