लेख विवरण

एसियाडका लागि नेपालको 'सेफ दि मिसन'मा घिसिङ नियुक्त

एसियाडका लागि नेपालको 'सेफ दि मिसन'मा घिसिङ नियुक्त

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा नेपालको 'सेफ दि मिसन'मा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई नियुक्त गरेको छ । बैठक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको हो ।

यस्तै बैठकले नेपालको 'डेपुटी सेफ द मिसन'मा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र परिषदको बोर्ड सदस्य अञ्जन धमलालाई नियुक्त गरेको छ । बैठकले ओलम्पिक बडा पत्रको धारा २७ र २८ को उपधारा ४ र ५ अनुसार निर्णय गरेको हो । त्यस अनुसार ओलम्पिक कमिटीले 'सेफ दि मिसन'को नियुक्ती गर्ने गर्छ ।

प्रतियोगिताका सहभागी हुने खेलाडी, पदाधिकारी र अरू सदस्य 'सेफ दि मिसन'को जिम्मेवारीमा रहने गर्छ । प्रतियोगिताका क्रममा 'सेफ दि मिसन' खेलाडी भिलेजमा बस्नु पर्ने र तिनको पहुँच चिकित्सकीय, प्रशिक्षण तथा प्रतिस्पर्धा स्थल, मिडिया सेन्टर र एसियाली फेमिली होटलमा पनि हुने गर्छ ।

बैठकले प्रतियोगितामा सहभागी हुने खेल तथा त्यसमा सहभागी हुने खेलाडी संख्याको पनि अन्तिम निर्णय गरेको छ । त्यस अनुसार नेपालका तर्फबाट २९ खेलमा २ सय ५३ खेलाडीका सहभागिता रहने छ । भदौ १२ मा भएको भएको अनलाइन डेलिगेसन रजिस्ट्रेसन बैठक (डीआरएम) अनुसार यो निर्णय भएको हो ।

त्यसमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक बैद्य र कार्यालय सचिव सुजनलाल श्रेष्ठ तथा परिषदको बोर्ड सदस्य धमलाले भाग लिएका थिए । अब भौतिक उपस्थितिमा अन्तिम डीआएम भदौ ३० मा हाङझाउमा बस्नेछ ।

निर्णय अनुसार नेपालका तर्फबाट बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र ई–स्पोर्टसमा २३ खेलाडीको सहभागिता रहनेछ ।

यस्तै फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, कराँतेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.