लेख विवरण

हिंसात्मक टिप्पणी गरेको आरोपमा पूर्व पाकिस्तानी क्रिकेटरलाई १२ वर्ष जेल सजाय

हिंसात्मक टिप्पणी गरेको आरोपमा पूर्व पाकिस्तानी क्रिकेटरलाई १२ वर्ष जेल सजाय

काठमाडौंँ । पाकिस्तानी पूर्व ब्याट्सम्यान खालिद लतीफलाई एक भिडियोमा हिंसात्मक टिप्पणी गरेको आरोपमा डच अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ । लतीफको मुद्धा उनको अनुपस्थितिमा अदालतमा पेश गरिएको थियो । लतीफले एक भिडियोमा नेदरल्याण्डका दक्षिणपन्थी राजनीतिज्ञ गेर्ट वाइल्डर्सको मृत्युको माग गरेका थिए ।

अदालतका अनुसार उनको आचरण हत्या, देशद्रोह र कसैलाई धम्की दिने दायरामा पर्दछ । लतीफ पाकिस्तानका निवासी हुन् र उनले नेदरल्याण्डको भ्रमण गरेका छैनन् र त्यहाँ पक्राउ परेका छैनन् । नेदरल्याण्ड र पाकिस्तानबीच कुनै आपराधिक सुपुर्दगी सम्झौता छैन र यस्ता घटनाहरूमा सहयोगका लागि अनुरोधहरू पहिले पनि अस्वीकृत गरिएको छ ।

अदालतमा अभियोजनकर्ताहरूले प्रमाणित गरेका थिए कि सन् २०१८ मा लतीफले वाइल्डर्सको हत्यामा करिब ३० लाख पाकिस्तानी रुपैयाँको पुरस्कार दाबी गर्दै एउटा भिडियो पोस्ट गरेका थिए । यो यस्तो समयमा भएको हो जब वाइल्डर्सले पैगम्बर मोहम्मदको चित्रण गरिएको कार्टुन प्रतियोगिताको घोषणा गरेकोमा पाकिस्तानमा धेरै विरोधहरू भएका थिए। तर पछि यो प्रतियोगिता रद्द भयो।

सन् २००८ देखि २०१६ सम्म पाँच ओडीआई र १३ टी–२० खेलेका लतिफलाई रोयटर्सले सम्पर्क गर्न सकेन । सन् २०१७ मा स्पट फिक्सिंग मामिलामा उनलाई पाँच वर्षको लागि प्रतिबन्ध पनि लगाइएको थियो।

६० वर्षीय विल्डर्स युरोपका प्रमुख दक्षिणपन्थी राजनीतिज्ञ हुन्। उनको फ्रिडम पार्टी (पीवीवी) संसदमा तेस्रो ठूलो पार्टी र प्रमुख प्रतिपक्षी दल पनि हो। सन् २००४ देखि, विल्डर्सलाई सधैं पुलिस सुरक्षा प्रदान गर्नु परेको छ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.