श्रीलंकाविरुद्धको प्लेइङ एघारमा पाकिस्तानका पाँच खेलाडी परिवर्तन
काठमाडौंँ । एसिया कपमा बिहीबार (आज) पाकिस्तान र श्रीलंकाबीचको खेल हुँदैछ । दुवै टोलीका लागि यो खेल गर या मर भन्दा कम छैन । आज हुने खेलको विजेता टोली फाइनलमा पुग्ने छ भने हार्ने टोलीको यात्रा एसिया कप २०२३ बाट समाप्त हुनेछ । यसैबीच पाकिस्तानले श्रीलंकाविरुद्धको खेलका लागि प्लेइङ इलेभेन घोषणा गरेको छ ।
श्रीलंकासँगको खेलमा पाकिस्तानले टोलीमा ५ खेलाडी परिवर्तन गरेको छ । फखर जमान, सलमान अली आगा, नसिम शाह, हरिस रउफ र फहीम अफराश आजको खेलमा पाकिस्तानी टोलीमा रहने छैनन्। नसिम शाह चोटका कारण एसिया कपबाट बाहिरिएका छन् । उनको स्थानमा जमान खान टोलीमा आएका छन् ।
यो महत्वपूर्ण खेलका लागि ओपनर मोहम्मद हरिस, फास्ट बलर मोहम्मद वासिम जुनियर, मिडल अर्डर ब्याट्सम्यान साउद शकील, फास्ट बलर जमान खान र स्पिन अलराउन्डर मोहम्मद नवाजलाई पाकिस्तानी टोलीको प्लेइङ इलेभेनमा समावेश गरिएको छ ।
अंक तालिकामा पाकिस्तान र श्रीलंका दुवैको दुई–दुई अंक भएकाले बिहीबार हुने खेल नकआउट जस्तै बनेको छ । जसमा विजयी टोली सेप्टेम्बर १७ मा हुने फाइनलमा प्रवेश गर्नेछन ।
पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएमा श्रीलंकाको टोली फाइनलमा पुग्ने छ । किनभने पाकिस्तानको नेट रन रेट निकै खराब छ । यस्तो अवस्थामा खेल रद्द भएमा श्रीलंका फाइनलमा प्रवेश गर्नेछ । सुपर–४ का दुई खेल खेलेपछि पाकिस्तानको नेट रन रेट -१.८९२ छ । जहाँ श्रीलंकाको नेट रन रेट -०.२०० रहेको छ।
श्रीलंका विरुद्धको खेलका लागि पाकिस्तानको प्लेइङ इलेभेन : मोहम्मद हरिस, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), साउद शकील, इफ्तिखार अहमद, शादाब खान, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर, शाहिन शाह अफ्रिदी र जमान खान।

टिप्पणी लेख्नुहोस्