एसियाड क्रिकेट : इन्डोनेसियाले मंगोलियालाई १ सय ७२ रनले हरायो
काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत आजदेखी सुरु भएको महिला क्रिकेटको पहिलो खेलमा इन्डोनेसियाले मंगोलियालाई १ सय ७२ रनले पराजित गरेको छ । हाङ्झाउको पिङफेङ कलेज क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ८४ रन बनायो । टोलीका लागि निलुह देवीले ४८ बलमा सर्वाधिक ६२ रनको योगदान दिइन् । अर्धसतक प्रहार गरेकी देवीले आफ्नो इनिङसमा १० चौंका प्रहार गरिन् । ओपनर नि पुतु आयु नन्द सकरिनीले ३१ बलमा ३५ रन बनाइन् । मारिया कोराजोनले २२ रन बनाउदा किसि कस्से १८ रनमा अविजित रहिन् ।
मंगोलियाका लागि मेन्डबयार एन्खजुल, बत्त्सेत्सेग नामुंज़ुल, जरगलसाइखान एर्डेनेसुभिड र गान्सुक अनुजिनले समान १-१ विकेट लिए ।
इन्डोनेसियाले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा मंगोलियाको टोली १० ओभरमा मात्र १५ रन बनाउदै अलआउट भयो । टोलीका कुनैपनि खेलाडीले दोहरो अंकमा रन बनाउन सकेनन् । मंगोलियाका ७ खेलाडी शुन्य रनमा आउट भए । इन्डोनेसियाका लागि एन्ड्रियानी एन्ड्रियानीले ३ ओभरमा ८ रन खर्चदै सर्वाधिक ४ विकेट लिइन् । रहमावती पंगेस्तुती र निलुह देवीले समान २-२ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत दोस्रो खेल अहिले हङकङ र मलेसियाबीच भइरहेको छ ।

टिप्पणी लेख्नुहोस्