भारतको एकदिवसीय टोलीमा फर्किए अश्विन
काठमाडौंँ । भारतले अस्ट्रेलियाविरुद्ध तीन खेलको एकदिवसीय शृङ्खलाका लागि आर अश्विन र वाशिङ्टन सुन्दरलाई १५ सदस्यीय टोलीमा समावेश गरेको छ ।
विश्वकप नजिकिँदै गर्दा र टोलीले आफ्नो बेन्च स्ट्रेन्थलाई थप परीक्षण गर्न खोजिरहेको बेला कप्तान रोहित शर्मा, विराट कोहली, हार्दिक पाण्ड्या र कुलदीप यादव जस्ता नियमित खेलाडीलाई पहिलो दुई एकदिवसीय खेलमा विश्राम दिइएको छ। रोहितको अनुपस्थितिमा केएल राहुलले टोलीको कप्तानी गर्नेछन् ।
तेस्रो एकदिवसीयका लागि छनोटकर्ताले विश्वकपमा खेल्ने टोली छनोट गरेका छन् । तर, तीनै ओडीआईका लागि अश्विन र वासिङ्टन छनोट भएका छन् ।
अश्विनले अन्तिम पटक १८ महिनाअघि एकदिवसीय खेल खेलेका थिए । एसिया कपमा बंगलादेशविरुद्धको खेलमा अक्षर पटेल घाइते भएका थिए । विश्वकपअघि अक्षरको फिटनेसमा सुधार भएन भने भारतले आर अश्विन वा वासिङ्टन सुन्दरसँग खेल्न सक्छ । सायद यही कारणले यी दुवै खेलाडी छनोट भएका हुन् ।
मुख्य चयनकर्ता अजित आगरकरले भने, "अक्षर फिट हुनेमा हामी आशावादी छौं। वासिङ्टन यसअघि नै एसिया कप फाइनलको टोलीमा थिए। अश्विनले टोलीमा अनुभव ल्याएका छन्। यी दुई खेलाडीलाई यस शृङ्खलामा समावेश गरेपछि हामीसँग विकल्प हुनेछ। यदि आवश्यक भएमा हामीले पछि विकल्प प्रयोग गर्न सक्नेछौं ।"
अस्ट्रेलिया विरुद्ध भारतीय टोली :
पहिलो दुई एकदिवसीयका लागिः केएल राहुल (कप्तान), रविन्द्र जडेजा (उपकप्तान), शुभमन गिल, रुतुराज गायकवाड, श्रेयस अय्यर, इशान किशन, सूर्यकुमार यादव, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, मोहम्मद शामी, तिलक वर्मा, प्रसिद्ध कृष्ण, आर अश्विन र वाशिंगटन सुन्दर ।
तेस्रो एकदिवसीयका लागिः रोहित शर्मा (कप्तान), हार्दिक पाण्डया (उपकप्तान), शुभमन गिल, श्रेयस अय्यर, केएल राहुल, इशान किशन, सूर्यकुमार यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, मोहम्मद शामी, विराट कोहली, कुलदीप यादव, अक्षर पटेल (फिटनेसमा निर्भर), आर अश्विन र वाशिंगटन सुन्दर ।

टिप्पणी लेख्नुहोस्