एसियाली खेलकुद : फुटबलमा भारत चीनसँग ५–१ ले पराजित
काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा आयोजक चीनले भारतलाई ५–१ ले पराजित गरेको छ । सुनिल क्षेत्रीको कप्तानीमा रहेको भारतीय टोलीले चीनविरुद्ध एक मात्र गोल गर्यो । दुई टोलीबीचको खेल हाङझाउको ह्वाङलोङ स्पोर्ट्स सेन्टर स्टेडियममा भएको थियो ।
खेलमा चीन सुरुदेखि नै भारतमाथि हाबी रहेको थियो । चीनले खेलको १७ औं मिनेटमा पहिलो गोल गरेको थियो । टोलीका लागि टियानीले पहिलो गोल गरे । भारतका लागि राहुल केपीले पहिलो हाफको अतिरिक्त समयमा पहिलो गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए । यसरी पहिलो हाफमा भारत र चीन १–१ गोलको बराबरीमा रहेका थियो ।
दोस्रो हाफ सुरु भएको केही समयपछि अर्थात् ५१ औं मिनेटमा चीनले अर्को गोल गर्यो । टोलीका लागि दाई वेइजुनले दोस्रो गोल गरे । यो गोलसँगै चीनले खेलमा २–१ को अग्रता लियो । चीनका लागि ७२औं मिनेटमा ताओ क्विआङलङले तेस्रो गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै खेलको ७५औं मिनेटमा ताओ छियाङलोङले आफ्नो दोस्रो र चीनका लागि चौथो गोल गरे ।
फिफा वरियतामा ८० औँ स्थानमा रहेको चिनियाँ टोली ४ गोल गरे पनि पछि हटेन । खेलको अन्त्यमा इन्जुरी टाइममा चीनका लागि हाओ फाङले टोलीका लागि ५औं गोल गर्दै ९९औँ फिफा वरियतामा रहेको भारतीय टोलीलाई ५–१ को लज्जास्पद हार चखायो ।

टिप्पणी लेख्नुहोस्