लेख विवरण

एसियाली खेलकुद : महिला क्रिकेटमा हङकङले मंगोलियालाई १ सय ८० रनले हरायो

एसियाली खेलकुद : महिला क्रिकेटमा हङकङले मंगोलियालाई १ सय ८० रनले हरायो

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत मंगलवारदेखी सुरु भएको महिला क्रिकेटमा हङकङले पहिलो जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको छ । मंगलवार पहिलो खेलमा मलेसियासँग २४ रनको हार व्योहोरेको हङकङले आज भएको आफ्नो दोस्रो खेलमा कमजोर टोली मंगोलियालाई १ सय ८० रनले पराजित गरेको छ ।

हाङ्झाउको पिङफेङ कलेज क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २ सय २ रन बनायो । टोलीका लागि कप्तान केरी चानले ३९ बलमा ७० रनको योगदान दिइन । उनले आफ्नो इनिङसमा ११ चौंका र १ छक्का प्रहार गरिन् । अन्य खेलाडीहरु नताशा माइल्सले ३० रन बनाउदा यी शान टु र मरियम बीबीले अविजित पारी खेल्दै क्रमशः ३४-३० रन बनाए । मंगोलियाका लागि त्सेन्दसुरेन अरियंटसेटसेगले २ तथा जरगलसाइखान एर्डेनेसुभिड र बत्त्सेत्सेग नामुंज़ुलले १-१ विकेट लिए ।

हङकङले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मंगोलियन टोली १४ ओभर ३ बलमा २२ रन बनाउदै अलआउट भयो । मंगोलियाका कुनैपनि खेलाडीले दोहरो अंकमा रन बनाउन सकेनन् । टोलीका ५ खेलाडी शुन्य रनमा आउट भए । हङकङका लागि एलिसन सिउ र कैरी चानले २-२ विकेट लिए । मरियम बीबी, अकाशा यूसुफ र अमान्डा चेउङले १-१ विकेट लिए । हारसँगै मंगोलिया प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा अब बिहीवार देखी क्वाटरफाइनल चरणका खेलहरु हुनेछन् । पहिलो चरणबाट यसअघि नै इन्डोनेसिया र मलेसियाले समान १-१ जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

बिहीवार हुने क्वाटरफाइनल चरणको पहिलो खेलमा मलेसियाले भारतको समाना गर्नेछ भने अर्को खेलमा इन्डोनेसिया पाकिस्तानसँग भिड्ने छ ।

शुक्रवार हुने क्वाटरफाइनल खेल श्रीलंका र थाइल्याण्ड तथा बंगलादेश र हङकङबीच हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.