एसियाली खेलकुद : महिला क्रिकेट तर्फ भारत सेमिफाइनलमा
काठमाडौंँ । भारतीय महिला क्रिकेट टोली एसियाली खेलकुदको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत पहिलो क्वाटरफाइनल आज भारत र मलेसियाबीचको खेल वर्षाका कारण रद्द भएपछि भारतले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
हाङ्झाउको पिङफेङ कलेज क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । वर्षाका कारण खेल प्रत्येक १५ ओभरमा घटाइएको थियो । टस हारेर ब्याटिङ गरेको भारतले मलेसियाविरुद्ध दुई विकेट गुमाएर १७३ रन बनाएको थियो ।
लक्ष्य पछ्याएको मलेसियाली इनिङ्स सुरु भएपछि पानी पर्यो र खेल फेरि रोकियो । पानी परेपछि मलेसियाको स्कोर बिना विकेट एक रन थियो, लामो समयसम्म वर्षा नरोकिएपछि खेल रद्द भयो ।
यसअघि भारतका लागि शेफाली वर्माले सर्वाधिक ६७ रन बनाइन् । उनीहरु बाहेक जेमिमाह रोड्रिग्वेजले ४७ रन र कप्तान स्मृति मन्धानाले २७ रनको योगदान दिइन् । ऋचा घोषले अन्तिममा उत्कृष्ट ब्याटिङ गर्दै ७ बलमा अविजित २१ रन बनाइन् । मलेसियाका लागि माहिरा इस्माइल र मास एलिसाले एक एक विकेट लिए ।
एसियाली खेलकुद अन्तर्गत धेरै इभेन्टका क्वालिफायर खेलहरू सेप्टेम्बर २३ अघि नै सुरु भएको छ। त्यसैले महिला क्रिकेटको छनोट खेल पनि सेप्टेम्बर १९ बाट सुरु भएको थियो । महिला क्रिकेटको फाइनल खेल २५ सेप्टेम्बरमा हुनेछ ।
एसियाली खेलकुद यस वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाउ सहरमा हुँदैछ । ४ वर्षमा एक पटक आयोजना हुने एसियाली खेलकुदमा यसपटक क्रिकेटलाई पनि समावेश गरिएको छ । महिला तर्फका खेलहरु सेप्टेम्बर १९ बाट सुरु भएको छ । सबै खेल टी २० ढाँचामा खेलाइनेछ। पुरुषतर्फको क्वाटरफाइनल अक्टोबरमा सुरु हुनेछ ।
महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको टोलीले सिधै क्वाटरफाइनल खेल्नेछन्। बाँकी ४ टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

टिप्पणी लेख्नुहोस्