पहिलो एकदिवसीय खेलमा भारतले अष्ट्रेलियालाई हरायो
काठमाडौंँ । मोहम्मद शमीको घातक बलिङ, शुभमन गिल, रुतुराज गायकवाड, केएल राहुल र सूर्यकुमार यादवको अर्धशतमा भारतले पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । योसँगै टोलीले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । भारतका लागि बलिङमा मोहम्मद शामीले ५ विकेट लिए । ब्याटिङमा शुभमन गिलले ७४ र रुतुराज गायकवाडले ७१ रनको इनिङ खेले । दुवैले पहिलो विकेटका लागि १४२ रनको साझेदारी गरेका थिए । सूर्यकुमार यादव ५० र केएल राहुलले अविजित ५८ रन बनाए ।
मोहालीको आइएस बिन्द्रा रंगशालामा शुक्रबार अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २७६ रन बनाएको थियो । जवाफमा भारतले आठ बल बाँकी रहँदै ५ विकेटको जित हात पारेको थियो । मोहालीमा अष्ट्रेलियाविरुद्ध भारतीय टोली २७ वर्षपछि विजयी भएको हो ।
अष्ट्रेलियाले दिएको २७७ रनको लक्ष्य पछ्याउने क्रममा भारतलाई शुभमन गिल र रुतुराज गायकवाडले उत्कृष्ट सुरुवात दिलाए । दुवैले पहिलो विकेटका लागि १४२ रनको साझेदारी गरे । गिलले ६३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । उनले ३७ बलमा अर्धशतक पूरा गरे । गायकवाडले १० चौकाको मद्दतले ७१ रनको उत्कृष्ट इनिङ खेले ।
राम्रो सुरुवातपछि भारतको मिडल अर्डर खस्किएको थियो । १४२ रनमा पहिलो विकेट गुमाएको भारतले ९ रनमै तीन विकेट गुमाएको थियो । भारतले दोस्रो विकेट १४८ र तेस्रो विकेट १५१ रनमा गुमायो। गायकवाड र गिलपछि श्रेयस अय्यर मात्र तीन रन बनाएर आउट भए ।
यसपछि कप्तान केएल राहुल र इशान किशनले केही आक्रामक शट खेले तर इशान धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनी २६ बलमा दुई चौकाको मद्दतले १८ रन बनाएर आउट भए । इशानलाई प्याट कमिन्सले विकेट पछाडि क्याच दिए।
चौथो विकेट १८५ रनमा खसेपछि सूर्यकुमार यादव र कप्तान केएल राहुलले पाँचौं विकेटका लागि ८० रनको साझेदारी गरे । सूर्यले ४९ बलमा पाँच चौका र एक छक्काको मद्दतले ५० रन बनाए । तर, भारतको जितअघि सूर्य छक्का प्रहार गर्ने प्रयासमा आउट भए । कप्तान केएल राहुलले एक छेउबाट इनिङ सम्हाल्दै अन्ततः टोलीलाई जित दिलाए। राहुलले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित ५८ रनको खेल जिताउने इनिङ्स खेले । उनीसँगै जडेजा तीन रनमा अविजित फर्किए ।

टिप्पणी लेख्नुहोस्