लेख विवरण

एकदिवसीय विश्वकपका लागि पाकिस्तानले पायो भिसा

एकदिवसीय विश्वकपका लागि पाकिस्तानले पायो भिसा

काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारत सरकारले विश्वकप खेल्न जाने पाकिस्तानी टोलीको भिसा स्वीकृत गरेको पुष्टि गरेको छ । पाकिस्तानी टोलीले यात्रा गर्न ४८ घण्टाभन्दा कम समय बाँकी हुँदा यो भिसा पाएको हो । पाकिस्तानी टोली दुबई हुँदै हैदरावाद पुग्नेछ, जहाँ उसले सेप्टेम्बर २९ मा न्यूजिल्याण्डसँग अभ्यास खेल खेल्नेछ । 

भिसाको स्वीकृति सोमबार साँझ मात्र आयो। त्यसको केही घण्टाअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसामा ढिलाइ भएको भन्दै आईसीसीमा गुनासो गरेको थियो। पीसीबीले आईसीसीलाई इमेल गर्दा पाकिस्तानी टोलीले भिसा पाएको थिएन।

भिसामा ढिलाइ भएपछि पाकिस्तानी टोलीले युएईमा हुने ‘टीम बन्डिङ कार्यक्रम’ रद्द गर्नुपरेको थियो । "गृह मन्त्रालयले भिसा जारी गर्नको लागि सुरक्षा क्लियरेन्स दिएको छ र बाँकी प्रक्रिया चलिरहेको छ," भारत सरकारका प्रवक्ताले ईएसपीएनक्रिकइन्फो लाई बताए।

यसअघि सोमबार इस्लामाबादमा काम गर्ने समय (साँझ ५ बजे) बितिसकेको थियो तर भिसाको कुनै खबर आएको थिएन । यस अवधिमा पीसीबी आईसीसीसँग निरन्तर सम्पर्कमा रह्यो र भारतको यो व्यवहार निन्दनीय र असहनीय रहेको भन्दै कडा शब्दमा इमेल लेख्यो। पीसीबीले आईसीसीलाई भिसा समस्या समाधान गर्न के कदम चाल्दै छ र यो विश्वकप सम्झौताको उल्लङ्घन होइन भनेर सोधेको थियो ।

अब पाकिस्तानी टोली बुधबार बिहान दुबई जाने र सोही दिन साँझ हैदरावाद प्रस्थान गर्नेछ । टोलीले शुक्रबार पहिलो अभ्यास खेल खेल्नेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.