एकदिवसीय विश्वकप बिशेष : सन् २०११ को विश्वकप फाइनल खेलमा किन भयो दुई पटक टस ?
काठमाडौंँ । एकदिवसीय विश्वकप क्रिकेट र विवाद । सन् २०२३ को एकदिवसीय विश्वकप अगामी अक्टुबर ५ बाट सुरु हुँदैछ । भारतमा हुने यो प्रतियोगितामा कुल ४८ खेल हुनेछन् । विश्वकपमा प्रायः एकातिर कीर्तिमान बन्छ भने अर्कोतिर विवाद पनि हुने गर्छ । सन् १९९६ को विश्वकपमा भएको आगजनी होस् वा २०११ मा भएको २ पटक टस। आज हामी विश्वकपसँग सम्बन्धित कथा र विवादका बारेमा जानकारी लिनेछौँ ।
खेल चलिरहँदा दर्शकको भीड मैदान भित्र आएपछि
सन् १९७५ को विश्वकप फाइनल खेल वेस्ट इन्डिज र अस्ट्रेलियाबीच चलीरहेको थियो । वेस्ट इन्डिजले अस्ट्रेलिया विरुद्ध २९१ रनको विशाल लक्ष्य बनाएको थियो । जवाफमा अस्ट्रेलियाले २३३ रनमै नौ विकेट गुमाएको थियो । क्रिजमा लिली र थमसन अन्तिम ब्याटिङ जोडीका रुपमा थिए। यसै क्रममा एउटा रोचक घटना घट्यो, लिलीले शट खेलेर दुई रन लिने प्रयास गरे, तब मैदानमा उपस्थित एक फिल्डरले थ्रो हाने र अपिल गरे । अम्पायरले निर्णय नदिदै मैदानबाहिर बसेका वेस्ट इन्डिजका फ्यानले खेल जितेको महसुस गरे र त्यही उत्साहमा उनीहरु मैदान प्रवेश गरे । जसकारण खेल ८–१० मिनेट रोकियो । फेरि खेल सुरु भयो र थमसनले बाउन्ड्रीतर्फ शट खेले, मैदानबाहिर बसेका एक दर्शकले मैदानमा आएर बल समाए। त्यतिन्जेल लिली र थमसन तेस्रो रनका लागि दौडिएका थिए । तर पछि अम्पायरले २ रन मात्र दिए । त्यसपछि थमसन आउट भए र अस्ट्रेलिया २७४ रनमा सिमित भयो । वेस्ट इन्डिजले खेल जित्ने बित्तिकै दर्शकहरू फेरि मैदानमा दौडिदै आए र कसैले चलाखीपूर्वक अम्पायर डिकी बर्डको टोपी चोरि गरे।
सन् १९९९ विश्वकपः जब दक्षिण अफ्रिकी कप्तानले कानमा इयरपीस लगाएर खेलिरहेको देखियो
दक्षिण अफ्रिकाका कप्तान ह्यान्सी क्रोनिएको म्याच फिक्सिङ विवाद वारे तत्कालै कसैलाई थाहा भएन। त्यतिबेला क्रिकेट खेलमा फिक्सिङको हल्ला धेरै थियो । दक्षिण अफ्रिकाका कप्तान ह्यान्सी क्रोनिएले सन् १९९९ को विश्वकपमा भारतविरुद्ध इयरपिस लगाएर खेलेका थिए । जसको सहयोगमा उनले ड्रेसिङ रुममा रहेका प्रशिक्षक बब वुलमरसँग कुरा गरिरहेको भेटियो । जब ह्यान्सीलाई यस बिषयमा सोधियो, उनले प्रशिक्षकसँग खेल रणनीतिको बारेमा कुरा गरेको जवाफ दिए, जुन खेलको भावना विपरित थियो ।
विश्वकप फाइनलमा पहिलो पटक अन्डरआर्म बलिङको प्रयोग
सन् १९८१ को विश्वकप फाइनल खेल अस्ट्रेलिया र न्युजिल्याण्डबीच भएको थियो । जसमा न्युजिल्यान्डलाई अन्तिम बलमा जितका लागि ६ रन आवश्यक थियो । अस्ट्रेलियाका ग्रेग च्यापलले आफ्ना भाइ ट्रेभर च्यापललाई अन्डरआर्म बल फाल्न भने । त्यसबेलासम्म अन्डरआर्म बलिङमा प्रतिबन्ध लागेको थिएन तर यही विवादका कारण अन्डरआर्म बलिङमा प्रतिबन्ध लगाइएको थियो ।
सन् १९९६ विश्वकपको विवादित सेमिफाइनल
सन् १९९६ को विश्वकप सेमिफाइनलसम्म भारतीय टोलीले जस्तो प्रदर्शन गर्यो, त्यसबाट फ्यानहरूले भारत विश्वकप जित्ने दावेदार भएको महसुस गर्न थालेका थिए । क्वार्टरफाइनलमा पाकिस्तानलाई हराएपछि भारतीय टोलीबाट जनताको अपेक्षा निकै बढेको थियो तर सेमिफाइनलमा भारतीय टोलीको ब्याटिङ अर्डर बिग्रिएपछि दर्शकहरु निकै आक्रोशित बनेका थिए । आक्रोशित दर्शकहरुले मैदानमा बोतलहरू फ्याँकेका थिए र स्टेडियमको प्याराफिटका सिटहरू पनि जलाइएको थियो।
सन् १९७९ को विश्वकपक उडानसँग सम्बन्धित एउटा रोचक कथा
सन् १९७९ को विश्वकपपछि भारतीय टोलीले टेष्ट शृंखलाका लागि इङ्ल्यान्ड भ्रमण गरेको थियो। विश्वकप र टेस्ट शृंखला हारेपछि एस वेंकटरघवनको कप्तानीमा रहेको भारतीय टोली हवाईजाहाज भारत फर्कदै थियो । अचानक उडानमा रहेका पाइलटले एक घोषणा गरे... "गावस्कर जीलाई भारतीय टोलीको कप्तान बनाइएकोमा बधाई छ।" किनभने पाइलटले टोली अघि कप्तान परिवर्तनको खबर पाएका थिए।
जब विश्वकपमा पहिलो पटक १ बलमा २१ रन आवश्यक भयो
सन् १९९२ को विश्वकप अन्तर्गत दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको खेलमा अचानक पानी पर्यो । एक समयमा दक्षिण अफ्रिकाले सहजै खेल जित्ने देखिएको थियो तर वर्षाका कारण खेल १०–१५ मिनेट रोकियो । औसत रन रेट नियमका कारण खेल फेरि सुरु हुँदा दक्षिण अफ्रिकाले १ बलमा २१ रन बनाउने लक्ष्य पायो । जसका कारण दक्षिण अफ्रिकाले खेल गुमायो । यदि त्यो खेल आजको अवस्थामा भएको भए डकवर्थ लुइस नियम अनुसार खेल जित्न दक्षिण अफ्रिकालाई १ बलमा ५ रन आवश्यक पर्ने थियो ।
सन् २०११ को विश्वकपमा दुई पटक टस
यो सन् २०११ एकदिवसीय विश्वकपको एक रोचक घटना हो । किनभने उक्त विश्वकपको फाइनल खेलमा दुई पटक टस भएको कसैलाई थाहै भएन । श्रीलंकाका कप्तान कुमार संगकाराले त्यसबेला मैदानमा धेरै भीड भएका कारण टसको आवाज नसुनेको बताए । जसका कारण दुईपटक सिक्का टस गर्नुपरेको थियो ।

टिप्पणी लेख्नुहोस्