एसियाली खेलकुद : पुरुष क्रिकेटमा हङकङले कम्बोडियालाई ९ विकेटले हरायो
काठमाडौंँ । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा हङकङले कम्बोडियालाई ९ विकेटले पराजित गरेको छ । हाङझाउको पिङफेङ मैदान आज भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको कम्बोडियाले हङकङलाई ७१ रनको लक्ष्य दिएको थियो । कम्बोडियाले दिइको ७१ रनको लक्ष्य हङकङले ५ ओभर ५ बलमा १ विकेट गुमाएर पुरा गर्यो । हङकङको जितमा बाबर हयातले १२ बलमा ४० रनको अविजित पारी खेले । उनले आफ्नो इनिङसमा १ चौंका र ५ छक्का प्रहार गरे । कप्तान निजाकत खानले २१ बलमा ३४ रनको अविजित पारी खेले । उनले आफ्नो इनिङसमा ६ चौंका र १ छक्का प्रहार गरे । कम्बोडिया लागि एकमात्र विकेट गुलाम मुर्तजाले लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कम्बोडियाले १८.२ ओभरमा अलआउट हुँदै ७० रन बनायो । टोलीका लागि ओपनर राम शरण (२७) र कप्तान लुकमान बटले (१७) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । हङकङका लागि नसरुल्ला राणाले ४ ओभरमा ७ रन खर्चदै सर्वाधिक ४ विकेट लिए । मोहम्मद गजानफर र अनास खानले २-२ विकेट लिए । आयुष शुक्ला र एहसान खानले १-१ विकेट लिए ।
आजको हारसँगै कम्बोडिया प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा अब हङकङकले जापानको समाना गर्नेछ । जापानले आफ्नो पहिलो खेलमा कम्बोडियालाई ३ विकेटले पराजित गरेको थियो ।

टिप्पणी लेख्नुहोस्