एकदिवसीय विश्वकप : छैटौं उपाधिका लागि आतुर अष्ट्रेलिया, यस्तो छ टोलीको बलियो र कमजोर पक्ष
काठमाडौँ । जब एकदिवसीय विश्वकप आउँछ, उपाधि दावेदारहरुको चर्चा सुरु हुन्छ । र दावेदारहरुको लिस्टमा अस्ट्रेलियाको नाम पक्कै पनि लिइन्छ । यसो हुनुको मुख्य कारण अस्ट्रेलिया एकदिवसीय विश्वकपको इतिहासमा सबैभन्दा सफल टोली भएकोले हो। पाँच पटकको च्याम्पियन यो टोलीलाई यसपटक पनि उपाधि दावेदारको रुपमा हेरिएको छ । पछिल्लो पटक सन् २०१५ मा च्याम्पियन बनेको अष्ट्रेलियाले यसपटक नयाँ कप्तानको नेतृत्वमा उपाधि जित्ने दाउमा छ । अष्ट्रेलियाको वर्तमान टोली अघिल्लो उपाधि जित्ने टोलीभन्दा खतरनाक नदेखिए पनि यसलाई हल्का रूपमा लिने गल्ती कुनैपनि टोलीले गर्न चाहँदैन।
प्याट कमिन्सको नेतृत्वमा रहेको अष्ट्रेलियाले आफ्नो पहिलो खेल अक्टोबर ८ मा भारतसँग खेल्नेछ । खेल चेन्नईमा हुनेछ र यससँगै अष्ट्रेलियाले विश्वकपको छैटौं उपाधिका लागि आफ्नो अभियान सुरु गर्नेछ । अष्ट्रेलियाली टोलीका अधिकांस खेलाडीका लागि यो विश्वकप अन्तिम हुनेछ र यस्तो अवस्थामा टोलीले उपाधिका साथ दिग्गज खेलाडीहरुलाई विदाई गर्न चाहन्छ । यसमा अष्ट्रेलिया सफल हुन्छ वा हुँदैन भन्ने कुरा टोलीले आफ्नो बलियो पक्षलाई राम्रोसँग सदुपयोग गरेर आफ्ना कमजोरीहरूलाई कत्तिको लुकाउन सक्छ त्यसमा भर पर्नेछ।
अष्ट्रेलियन टोलीको बलियो पक्ष भनेकै यसका अनुभवी खेलाडीहरु हुन् । टोलीमा प्याट कमिन्स, स्टिभ स्मिथ, मिचेल स्टार्क, डेभिड वार्नर, जोस हेजलवुड जस्ता अनुभवी खेलाडीहरु छन्, जो सन् २०१५ मा अष्ट्रेलिया विश्व च्याम्पियन हुँदा टोलीमा थिए। मिचेल मार्स, एडम जाम्पा, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेल जस्ता खेलाडीहरू पनि छन्, जसले माथिका पाँच खेलाडीसँगै अष्ट्रेलियालाई २ वर्षअघि टी-२० विश्व च्याम्पियन बनाएका थिए। समग्रमा भन्दा अष्ट्रेलियन टोलीका आधा भन्दा बढी खेलाडीहरूले विश्व च्याम्पियन बन्ने स्वाद चाँखि सकेका छन्, जसले उनीहरूलाई ठूला ठूला प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्ने तरिका थाहा छ भन्ने देखाउँछ।
डेभिड वार्नर, मिचेल मार्स, स्टिभ स्मिथ, मार्नस लाबुस्चेन र ग्लेन म्याक्सवेल जस्ता खेलाडी रहेको अष्ट्रेलियाली टोलीको ब्याटिङ लाइनअप बलियो रहेको छ । साथै उनीहरु अहिले उत्कृष्ट लयमा छन र प्रतियोगिताहरुमा लगातार रन बनाइरहेका छन्। उनीहरुले भारतविरुद्धको एकदिवसीय सिरिजमा पनि राम्रो रन बनाएका थिए । वार्नर र मार्सले विशेष गरी टोलीलाई विस्फोटक सुरुवात दिने गर्छन, जसले विपक्षीहरूलाई समस्यामा पार्ने गर्दछ। यता मिडल अर्डरमा पनि लाबुस्चेनले लगातार रन बनाइरहेका छन्। र टोलीमा म्याक्सवेल, स्टोइनिस र क्यामरुन ग्रीन जस्ता राम्रा फिनिशरहरू पनि छन्। साथै, प्याट कमिन्स र स्टार्कले पनि टोलीलाई आवश्यकता परेको बेलमा ब्याटिङमा योगदान दिन सक्छन् ।
बलिङमा हेजलवुड, कमिन्स र स्टार्कको तिव्र त्रिकुटले बिपक्षी टोलीको ब्याटिङ अर्डरलाई ध्वस्त पार्न सक्छ। बिपक्षीलाई विशेष गरी स्टार्क सबैभन्दा ठूलो खतरा हुनेछ। बायाँ हाते तेज बलर स्टार्क अहिले राम्रो लयमा छन् र विश्वकपमा उनको प्रदर्शन सधैं फरक स्तरमा रहन्छ। उनी सन् २०१५ मा २२ र र सन् २०१९ मा २७ विकेट लिदै दुबै पटक प्रतियोगिताको सबैभन्दा सफल बलर बनेका थिए।
तीनैजना हरेक खेलमा सँगै खेल्ने भएपनि अहिलेको परिस्थिति र खेलाडीको फिटनेसलाई ध्यानमा राखेर निर्णय लिनुपर्ने भएकाले भन्न गाह्रो छ । यसका बावजुद, टोलीसँग नाथन एलिसको रूपमा अर्को उपयोगी बलर छन् । जसले रन मात्र नियन्त्रण गर्दैनन, मध्यम ओभरहरूमा कडा लाइन लेन्थका साथ बलिङ गर्दै विकेट पनि लिन सक्छन्। र यो कुरा उनले भारतमा देखाइसकेका छन् । टोलीमा स्टोइनिस र ग्रीनका रूपमा मध्यम गतिका बलर पनि छन् ।
अष्ट्रेलियाली टोलीमा केही कमजोरीहरू पनि छन् र सबैभन्दा ठूलो समस्या उनीहरूको विस्फोटक ब्याट्सम्यान ट्राभिस हेडको चोट हो। दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखलाका क्रममा चोट लागेपछि हेड अहिले मैदानबाहिर छन् । यति हुँदाहुँदै पनि उनलाई १५ सदस्यीय स्क्वाडमा राखिएको छ । तर उनी पूर्णरुपमा निको हुन अझै समय लाग्ने भएकाले धेरै खेल खेल्न पाउने छैनन् । यस्तो अवस्थामा अन्य कुनै ब्याट्सम्यान घाइते भएमा अष्ट्रेलियाका लागि समस्या हुनसक्छ ।
योसँगै बायाँ हाते स्पिनर एस्टन अगर चोटका कारण प्रतियोगिताबाट बाहिर भएकाले टोलीको स्पिन विभाग अलि कमजोर देखिन्छ । यस्तो अवस्थामा स्पिन विभागको सम्पूर्ण जिम्मेवारी लेग स्पिनर एडम जाम्पाको काँधमा छ । जाम्पाको बलिङ उत्कृष्ट छ तर उनलाई अर्को छेउबाट समर्थन पाउनु महत्त्वपूर्ण हुन्छ । आगरको अनुपस्थितिमा टोलीमा विविधता हुनेछैन। यस्तो अवस्थामा म्याक्सवेलले आफ्नो अफ ब्रेक मार्फत ठूलो भूमिका खेल्नुपर्नेछ । टोलीमा तनवीर सांगा पनि छन् तर यी युवा स्पिनरले अवसर पाउने सम्भावना कम छ ।

टिप्पणी लेख्नुहोस्