एसियाली खेलकुद : एथ्लेटिक्सको दोश्रो हिटमा फुलमती राणा छैटौं
काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको महिला ८ सय मिटर दौडमा नेपालकी फुलमती राणाले आफ्नो पहिलो चरणको दोश्रो हिटमा छैटौं भएकी छन् । सहभागी ७ मध्ये फुलमतीले समग्रमा छैटौं स्थानमा दौड टुंगाएकी हुन् ।
हाङझाव एसियाडको मुख्य रंगशाला हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको पहिलो चरणको दोश्रो हिटमा फुलमतीले निर्धारित दूरी २ मिनेट २२.५९ सेकेन्डमा पूरा गरिन् । उक्त हिटमा पाकिस्तानकी रविला फारुक डिस्क्वालिफाइ भइन् । १ हजार ५ सय मिटर दौडमा फुलमतीको चुनौती समाप्त भइसकेको छ ।
नेपालकी राजपुरा पछाईं महिला ५ हजार मिटर दौडमा १२ औं स्थानमा सीमित भइन् । सहभागी १३ मध्ये राजपुरा १२ औं भएकी हुन् । राजपुरासंगै उक्त स्पर्धामा १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी नेपालकी सन्तोषी श्रेष्ठले पनि प्रतिस्पर्धा गरेकी थिइन् । सन्तोषीले भने दौड पूरा गर्न सकिनन् ।
राजपुराले निर्धारित दूरी पूरा गर्न १७ मिनेट ०५.३४ सेकेन्डको समय निकालिन् । यो प्रदर्शन उनको अहिलेसम्मकै उत्कृष्ट समय हो । उनको व्यक्तिगत उत्कृष्ट समय १७ मिनेट ५८.५४ सेकेन्ड रहेको छ ।
भारतकी पारुल चौधरी, जापानकी रिरिका हिरोनाकाले रजत र कजाखस्तानकी क्यारोलिन छेपकोइचले कांस्य पदक जिते ।

टिप्पणी लेख्नुहोस्