लेख विवरण

एकदिवसीय विश्वकप अभ्यास खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड विजयी

एकदिवसीय विश्वकप अभ्यास खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड विजयी

काठमाडौंँ । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सोमबार दुई अभ्यास खेल भएका छन् । गुवाहाटीको बरसापारा क्रिकेट रंगशालामा भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ४ विकेटले पराजित गरेको छ । तिरुवनन्तपुरमस्थित ग्रीनफिल्ड अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई डीएलएस पद्धतिमा ७ रनले पराजित गरेको छ ।

गुवाहाटीको बरसापारा क्रिकेट रंगशालामा वर्षाका कारण खेल ३७–३७ ओभरमा छोट्याइएको थियो । खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । टोलीका लागि मेहदी हसन मिराजले ७४ रनको इनिङ्स खेले । ओपनर तान्जिद हसनले ४५ रन बनाए पनि बाँकी ब्याट्सम्यानले खासै केही गर्न सकेनन् । बंगलादेशले ३७ ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

इंग्ल्यान्डका रिस टोपलीले ३ विकेट लिए भने डेभिड विली र आदिल रसिदले २–२ विकेट लिए । साम करन र मार्क वुडले १–१ विकेट लिए ।

इंग्ल्याण्डले डीएलएस पद्धतिमा १९७ रनको संशोधित लक्ष्य पाएको थियो । टोलीका लागि जोनी बेयरस्टोले २१ बलमा ३४ रनको इनिङ खेल्दै टोलीलाई द्रुत सुरुवात गराए । जो रुटले २६, ह्यारी ब्रुक १७ र जोस बटलरले ३० रन बनाए । अन्तिममा मोइन अलीले ५६ रनको इनिङस् खेल्दै २५ औं ओभरमा टोलीलाई जित दिलाए ।

बंगलादेशका मुस्ताफिजुर रहमानले २ विकेट लिए । हसन महमुद, शोरिफुल इस्लाम, तस्किन अहमद र नसुम अहमदले १–१ विकेट लिए ।

तिरुवनन्तपुरममा ३२२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात खराब रह्यो । टोलीका लागि रिजा हेन्ड्रिक्स गोल्डेन डकमा प्याभिलियन फर्किए । त्यसपछि ५१ रन बनाउदै इनिङ्सको जिम्मा रस्सी भान डेर डुसेनले लिए तर उनी पनि मिचेल सान्टनरको शिकार बने । उनीपछि एडेन मार्कराम १३ र हेनरिक क्लासेनले ३९ रन बनाएर पेभिलियन फर्किए ।

त्यसपछि मैदान आएका क्विन्टन डी ककले एक छेउबाट ब्याटिङ गर्दै अर्धशतक बनाए र डेभिड मिलरसँगै इनिङ्सलाई अगाडि बढाए। वर्षा सुरु हुँदा दक्षिण अफ्रिकाले ३७ ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । वर्षा नरोकिएपछि अम्पायरले डीएलएस विधि अनुसार निर्णय गरे र न्यूजिल्याण्ड ७ रनले विजयी भयो।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.