आईसीसी टी–२० विश्वकप एसिया छनोट 'ए' मा कुवेतले मालदिभ्सलाई हरायो
काठमाडौंँ । आईसीसी पुरुष टी–२० विश्वकप रिजनल एसिया छनोट ए मा कुवेतले मालदिभ्सलाई ८ विकेटले पराजित गरेको छ । दोहाको वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मालदिभ्सले दिएको ८४ रनको लक्ष्य कुवेतले ७ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा मित भावसारले २० बलमा २८ रन बनाए । रविजा सन्दारुवान (२७) र क्लिन्टो एन्टोले अविजित २३ रन बनाए । मालदिभ्सका लागि इब्राहिम हसनले एकमात्र विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको मालदिभ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८३ रन बनाएको थियो । टोलीका लागि कौशल रोड्रिगो (२३), मोहम्मद अजाम (१४), अज्यान फरहाथ (१३) र इब्राहिम नाशथले अविजित (१२) रन बनाए । बलिङमा कुवेतका लागि यासिन पटेल र मोहम्मद असलमले २(२ विकेट लिए । मिराज अहमद र बिलाल ताहिरले १(१ विकेट लिए । जितसँगै कुवेत अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । प्रतियोगितामा कुवेत, मालदिभ्स, सउदी अरेबिया र कतारले सहभागिता जनाएका छन् ।
छनोट प्रतियोगितामा पहिलो हुने टोलीले नेपालमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एशिया क्षेत्र फाइनलमा स्थान बनाउने छ । एशिया क्षेत्र फाइनल प्रतियोगितामा टियु क्रिकेट मैदान र मुलपानी मैदानमा अक्टुबर ३० देखी नोभेम्बर ५ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसँगै मलेसिया, युएई, ओमान, बहराइन, हङकङ र सिङापुर रहेका छन् ।
नेपालमा आयोजना हुने टी–२० विश्वकप एशिया क्षेत्र छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउने २ टोलीले अमेरिका र वेस्टइन्डिजमा सन् २०२४ जुन ४ देखी ३० सम्म आयोजना हुने पुरुष टी–२० विश्वकप खेल्नेछ् ।

टिप्पणी लेख्नुहोस्