एकदिवसीय विश्वकप अभ्यास खेलमा अष्ट्रेलिया र अफगानिस्तान विजयी, भारत र नेदरल्यान्ड्सबीचको खेल रद्द
काठमाडौंँ । अस्ट्रेलियाले एकदिवसीय विश्वकप अभ्यास खेलमा पाकिस्तानलाई १४ रनले पराजित गरेको छ । अर्को खेलमा अफगानिस्तानले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको छ भने तिरुवनन्तपुरममा भएको भारत र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
हैदराबादमा मंगलवार टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३५१ रन बनाएको थियो । जवाफमा पाकिस्तान ४७.४ ओभरमा अलआउट हुँदै ३३७ रनमा समेटियो ।
राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ४८ रन बनाए । मिचेल मार्शले ३१ रन बनाए । मध्यक्रमका लागि मार्नस लाबुशेनले ४० रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ७७ र क्यामरुन ग्रीनले ५० रन बनाए । जोस इङ्गलिसले पनि ४८ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका उस्मा मीरले दुई विकेट लिए । मोहम्मद वासिम, मोहम्मद शाकिब र मोहम्मद नवाजले समान १–१ विकेट लिए ।
जवाफमा पाकिस्तानका कप्तान बाबर आजम ९० रनमा रिटायर्ड आउट भए । इफ्तिखार अहमदले ८३ रन बनाए । मोहम्मद नवाजले ५० रन बनाए ।
बलिङतर्फ अष्ट्रेलियाका मार्नस लाबुसचेनले ३ विकेट लिए । कप्तान प्याट कमिन्स र मिचेल मार्सले समान २–२ विकेट लिए । अष्ट्रेलियाले आफ्ना तीन मुख्य बलर मिचेल स्टार्क, प्याट कमिन्स र एबटबाट मात्र १८ ओभर बलिङ गरायो । बाँकी ओभर उनका गैर(नियमित बलरहरूले गरेका थिए।
गुवाहटीस्थित बार्सापारा क्रिकेट स्टेडियममा भएको खेलमा अफगानिस्तानले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्का ४६.२ ओभरमा अलआउट हुँदै २९४ रनमा समेटियो । टोलीका लागि कप्तान कुसल मेन्डिस १ सय ५८ रन बनाएर रिटायर आउट भए । सदिरा समरविक्रमाले ३९ तथा पाथुम निसानकाले ३० रन बनाए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिए ।
वर्षाका कारण अफगानिस्तानलाई ४२ ओभरमा २५७ रनको संशोधित लक्ष्य दिइएको थियो, जुन अफगानिस्तानका ब्याट्सम्यानले ३८.१ ओभरमा ४ विकेट गुमाएर पुरा गरेका थिए । टोलीका लागि रहमानउल्लाह गुरबाजले ११९ रनको सतकीय इनिङ खेले भने रहमत शाहले ९३ रन बनाए । श्रीलंकाका कासुन रजिथा र लाहिरु कुमाराले एक–एक विकेट लिए ।
तिरुवनन्तपुरममा भएको भारत र नेदरल्यान्ड्सबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको थियो ।

टिप्पणी लेख्नुहोस्