एसीसी अन्डर-१९ प्रिमियर कपका लागि नेपाली क्रिकेट टोली घोषणा
काठमाडौंँ । मलेसियामा आयोजना हुने एसीसी पुरुष अन्डर-१९ प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान खनालसँगै आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (ए), दिपक बोहरा (बी), उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुभाष भण्डारी, विशाल केसी र मिलन बोहरा रहेका छन् । त्यस्तै रिजर्भ खेलाडीहरुमा प्रज्वल थापा, बिपिन रावल, निर्मल गुरुङ र राजेश यादव रहेका छन् ।
प्रिमियर कप यहि अक्टुबर १२ देखी २४ सम्म आयोजना हुँदैछ । प्रतियोगिताका खेलहरु मलेसियाको युकेएम क्रिकेट ओभल बांगी, बायुइमास ओभल कलाङ र जेसीसी एकेडेमी जोहरमा हुनेछ । प्रतियोगितामा आयोजक मलेसियासँगै नेपाल, बहराइन, साउदी अरेबिया, इरान, युएई, ओमान, कतार, चीन, सिङापुर, थाइल्याण्ड, कुवेत, मालदिभ्स, हङकङ, जापान र इन्डोनेसियाका अन्डर-१९ टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अक्टुबर १२ मा इरानसँग खेल्नेछ । दोस्रो खेल अक्टुबर १५ मा बहराइनसँग खेल्ने छ । लिग चरणको अन्तिम खेल नेपालले साउदी अरेबिया विरुद्ध अक्टुबर १९ मा खेल्ने छ । नेपाल रहेको समुह ए मा बहराइन, इरान र साउदी अरेबिया रहेका छन् ।
प्रतियोगितामा सहभागि १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ । चार वटै समुहको शिर्षमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो
हुने टोलीले अन्डर-१९ एसिया कप खेल्नेछ । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्