लेख विवरण

एकदिवसीय विश्वकप २०२३ को पहिलो खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई हरायो

एकदिवसीय विश्वकप २०२३ को पहिलो खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई हरायो

काठमाडौंँ । साविक विजेता इंग्ल्याण्डले एकदिवसीय विश्वकप २०२३ को पहिलो खेलमा लज्जास्पद हार बेहोरेको छ । ड्वेन कोनवे र रचिन रविन्द्रको शानदार शतकीय इनिङ्समा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । जितका लागि २८३ रनको लक्ष्य पाएको न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाएर २८३ रन बनाएर खेल जित्यो । न्यूजिल्याण्डका लागि ड्वेन कोनवे र रचिन रविन्द्रले शतक प्रहार गरे ।

इंग्ल्यान्डको २८२ रनको जवाफमा ब्याटिङमा आएको न्यूजिल्याण्डको सुरुवात भने राम्रो हुन सकेन । न्युजिल्याण्डलाई पहिलो झटका १० रनको स्कोरमा लाग्यो । विल योङ बिना कुनै रन बनाई पेभिलियन फर्किए । त्यसपछि ड्वेन कोनवे र रचिन रविन्द्रले इंग्ल्याण्डलाई कुनै मौका दिएनन् ।

ड्वेन कोनवे र रचिन रविन्द्रबीच दोस्रो विकेटका लागि २७३ रनको अविजित साझेदारी भयो । कोनवे १२१ बलमा १५२ रन बनाएर अविजित रहे । उनले आफ्नो इनिङ्समा १९ चौका र ३ छक्का प्रहार गरे । रविन्द्रले ९६ बलमा १२३ रन बनाएर अविजित रहे । उनले आफ्नो पारीमा ११ चौका र ५ छक्का प्रहार गरे । इंग्ल्याण्डका लागि एकमात्र विकेट साम करनले लिए ।

यसअघि न्यूजिल्याण्डका कप्तान टम लाथमले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो । इंग्ल्याण्डका लागि जो रुटले सर्वाधिक रन बनाए । उनले ८६ बलमा ७७ रनको योगदान दिए । न्यूजिल्याण्डका लागि म्याट हेनरीले सर्वाधिक ३ विकेट लिए । मिचेल सान्टनर र ग्लेन फिलिप्सले २–२ विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.