लेख विवरण

एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुआत

एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुआत

काठमाडौंँ । एकदिवसीय विश्वकप २०२३ को पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई १०२ रनले पराजित गरेको छ । खेलमा अफ्रिकाका तीन खेलाडीहरुले शतक प्रहार गरेका थिए । जसमा एडेन मार्करामले ४९ बलमा एकदिवसीय विश्वकप इतिहासकै सबैभन्दा छिटो शतकको किर्तिमान बनाए। यसबाहेक क्विन्टन डि कक र रासी भान डेर डुसेनले पनि शतकीय पारी खेले । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रन बनाएको थियो । जवाफमा श्रीलङ्का ३२६ रनमा अलआउट भयो ।

विशाल लक्ष्य पछ्याएको श्रीलंकाले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको थियो । टिमका ओपनर पाथुम निसंका खाता नखोली पवेलियन फर्केका थिए । त्यसपछि केही बेरका लागि टोलीको स्कोर अघि बढ्यो र आठौं ओभरको अन्तिम बलमा श्रीलंकाले दोस्रो विकेट गुमायो । यस पटक कुशल परेराले (१५) रन बनाएर आउट भए । यस क्रममा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मेन्डिसले बलियो इनिङखेल्दै टोलीको आशा जगाएका थिए । तर १२ औं ओभरको चौथो बलमा मेन्डिस पनि आउट भए । मेन्डिसले ४२ बलमा ७६ रन बनाए जसमा उनले ४ चौका र ८ छक्का प्रहार गरे । यसरी श्रीलंकाले १०९ रनको स्कोरमा तेस्रो विकेट गुमायो । त्यसको केही समयपछि १४ औं ओभरमा श्रीलङ्कालाई चौथो झट्का लाग्यो । यस पटक सादिरा समरविक्रममा २३ रन बनाएर प्याभिलियन फर्किए ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका चरिथ अस्लंकाले फेरि एकपटक श्रीलंकाली समर्थकको आशा जगाए । उनले ६५ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ७९ रन बनाए । तर, यसबीच श्रीलंकाले धनञ्जय डी सिल्भा (११) को रुपमा १५० रनको स्कोरमा पाँचौं विकेट गुमायो । त्यसपछि ३२ औं ओभरको अन्तिम बलमा अस्लंका लुंगी एनगिडीको शिकार बने ।

त्यसपछि ३३ औं ओभरमा डुनिथ वेल्लालेज गोल्ड डकको शिकार भएर पवेलियन फर्किएपछि ४० औं ओभरमा कप्तान दासुन शनाका ६८ रन बनाएर आउट भए । त्यसपछि कुसन रजिताले ४४ औं ओभरमा आफ्नो विकेट गुमाए । रजिता ३३ रन बनाएर अफ्रिकी तीव्र गतिका बलर जेराल्ड कोएट्जीको शिकार भए । त्यसपछि अन्त्यमा कागिसो रबाडाले मटिशा पाथिरानालाई बोल्ड गर्दै खेल अन्त्य गरे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लागि जेराल्ड कोएट्जीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मार्को जानुसले १० ओभरमा ९२ रन खर्चेर २ विकेट लिए । रबाडा र केशव महाराजले समान २–२ विकेट लिए । एन्गिडीले १ सफलता हात पारे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.