दक्षिण अफ्रिकाले ५ पटकको विश्व विजेता अस्ट्रेलियालाई १३४ रनले हरायो
काठमाडौंँ । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितका लागि ३१२ रनको लक्ष्य पाएको अष्ट्रेलिया ४०.५ ओभरमा अलआउट हुँदै १७७ रनमा समेटियो ।
दक्षिण अफ्रिकाले दिएको ३११ रनको जवाफमा अष्ट्रेलियन टोलीको सुरुवात निकै खराब रह्यो । टोलीका लागि मिचेल मार्शले ७ रन जोडे । डेभिड वार्नर २७ बलमा १३ रन बनाएर पवेलियन फर्किए । त्यसपछि जोस इङ्लिस, ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिस आउट भए । अस्ट्रेलियाका ५ ब्याट्सम्यान ६५ रनमा पेभेलियन फर्केका थिए । टोलीलाई ७० रनको स्कोरमा छैटौं झट्का लागेको थियो ।
तर मिचेल स्टार्क र मार्नस लाबुशेनले ६९ रनको साझेदारी गरेका थिए । दुवै खेलाडीले हारको अन्तर कम गर्ने भरपुर प्रयास गरे पनि मिचेल स्टार्क ५१ बलमा २७ रनमा आउट भए । त्यसपछि केशव महाराजको बलमा मार्नस लाबुशेन आउट भए ।
मिचेल मार्सलाई मार्को युनसेनले आउट गरेका थिए । त्यही क्रममा डेभिड वार्नर लुंगी एनगिडीको बलमा पेभेलियन फर्के । कागिसो रबाडाको बलमा स्टिभ स्मिथ प्याभिलियन फर्किए । जोस इंग्लिसलाई कागिसो रबाडाले बोल्ड गरे । केशव महाराजको बलमा अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले सहजै क्याच आउट भए ।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडा सर्वाधिक सफल बलर बने । रबाडाले १० ओभरमा २३ रन दिएर ३ विकेट लिए । मार्को युनसेन, केशव महाराज र तबरेज शम्सीले १–१ सफलता हात पारे ।
यसअघि अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले १०६ बलमा १०९ रन बनाए । एडेन मार्करामले ४४ बलमा ५६ रन बनाए । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए । यसबाहेक जोस हेजलउड, प्याट कमिन्स र एडम जाम्पाले १–१ सफलता हात पारे ।

टिप्पणी लेख्नुहोस्