त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपालले युएईलाई हरायो
काठमाडौंँ । नेपाल, युएई र हङकङ सहभागी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई पराजित गरेको छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।
टोलीको जितमा कप्तान रोहित पौडेलले अर्धसतकीय पारी खेले । ४० बलको समाना गर्ने क्रममा पौडेलले अविजित ५१ रन बनाए । यस क्रममा उनले ५ चौंका प्रहार गरे । अलराउन्डर दिपेन्द्र सिंह ऐरिले पनि ३४ रनको अविजित पारी खेले । २३ बलको समान गर्ने क्रममा ऐरिले ३ चौंका र १ छक्का प्रहार गरे । अन्य खेलाडीहरुमा ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले क्रमशः १४, २३ रन बनाए । कुशल मल्ल ११ रन बनाएर रन आउट भए ।
बलिङमा युएईका लागि निलांस केसवानी र अली नसीर १-१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको युएईले नेपाललाई जितका लागि १ सय ४१ रनको लक्ष्य दिएको थियो । पहिले ब्याटिङ गर्ने क्रममा युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४० रन बनाएको थियो । टोलीका लागि बासिल हमिदले अर्धसतकीय पारी खेल्दै ३८ बलमा ५१ रन बनाए । त्यस्तै अल नासीर (३२), कप्तान मुहम्मद वासीम (१७) र असिफ खानले (१५) रन बनाए ।
बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै गुलशन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले समान १-१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्