एसियाली पारा खेलकुद : दुई डबल्समा नेपाल पछाडि
काठमाडौंँ । चीनको हाङझावमा जारी चौथो एसियाली पारा खेलकुदमा बिहीबार नेपालले मात्र टेबलटेनिस प्रतिस्पर्धा गर्ने तालिका थियो । नेपालले पुरुष डबल्सको क्लास एमडी ८ र मिक्स डबल्सको क्लास एक्सडी ७–१० मा खेल्नु पर्ने थियो ।
जीएपी जिम्न्याजियममा नेपाली खेलाडीले पुरुष डबल्समा वाक ओभर दिए भने मिक्स डबल्समा ३–० को हार ब्यहोरे ।
पुरुष डबल्सको प्रिक्वाटरफाइनलमा दक्षिण कोरियाका जेहयियोन पार्क र यङबोकको जोडीले डिगमसिंह चेम्जोङ र केशव थापाको जोडीबाट वाक ओभर पाए ।
मिक्स डबल्सको प्रिक्वाटरफाइनलमा काजाकिस्तानका एलेक्जन्दर स्टेपानोभा र यर्लन काजियेभको जोडीले डिगम र लाली तामाङको जोडीलाई ११–६, ११–५ र ११–४ को सोझो सेटमा पराजित गरे ।
नेपालले शुक्रबार एथलेटिक्समा १ तथा पौडीमा २ स्पर्धामा हिट चरणमा प्रतिस्पर्धा गर्ने छ ।
एथलेटिक्सको पुरुष ४ सय मिटर दौडको टी ४७ मा सुरज भारले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पौडीको पुरुष ५० मिटर फ्रिस्टायलको एस ७ मा रमेश खत्री तथा महिला ५० मिटर फ्रिस्टायलको एस ६ मा जेनिशा कडायतले खेल्ने छन् ।

टिप्पणी लेख्नुहोस्