लेख विवरण

ENG Vs SL Highlights: इंग्ल्याण्डको पारी ३३.२ ओभरमै सीमित

ENG Vs SL Highlights: इंग्ल्याण्डको पारी ३३.२ ओभरमै सीमित

काठमाडौंँ । भारतमा जारी एकदिवसीय विश्वकपको २५ औँ खेलमा श्रीलंकाले उत्कृष्ट बलिङ गर्दै इंग्ल्यान्डलाई १५६ रनमा सीमित गरेको छ । श्रीलंकाको बलिङ अगाडि विश्व च्याम्पियन इंग्ल्याण्डका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् र पूरै टोली ३३.२ ओभरमा अलआउट भयो । श्रीलंकाका लागि लेहिरुले ३ र म्याथ्युजले २ विकेट लिए । इंग्ल्याण्डका सबैभन्दा भरपर्दो ब्याट्सम्यान बेन स्टोक्सले ४३ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डका बेयरस्टो र मलानले पहिलो विकेटका लागि ४३ रन जोडे । मलान २५ बलमा २८ रन बनाएर आउट भए । त्यसपछि इंग्ल्यान्डको विकेट पतन हुन सुरु भयो ।

जो रुट ३ रन बनाउदै श्रीलंकाको उत्कृष्ट फिल्डिङको शिकार बने । उनी रनआउट हुँदै पेभेलीयन फर्किए । त्यसपछि बेयरस्टो पनि धेरै समय क्रिजमा टिक्न सकेनन् । उनी ३० रन बनाएर पेभेलीयन फर्किए । खेलमा बटलरको खराब फर्म जारी रह्यो । उनी मात्र ८ रन बनाएर आउट भए । लिभिङस्टोन पनि आजको खेलमा असफल रहे । उनी मात्र १ रन बनाएर पेभेलीयन फर्किए ।

इंग्ल्याण्डले १७ ओभरमा ८५ रन बनाउने क्रममा ५ विकेट गुमाएको थियो । त्यसपछि स्टोक्सले मोइन अलीसँग मिलेर इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे । यी दुई खेलाडीबीच छैटौं विकेटका लागि ३७ रनको साझेदारी भयो । तर १५ रन बनाएका मोइन ठूलो सट प्रहार गर्ने प्रयासमा आउट भए । भोक्सले पनि खाता खोल्न सकेन र इंग्ल्याण्डले १२३ रनमा ७ विकेट गुमायो ।

एक छेउबाट सम्हालिएर खेलीरहेका बेन स्टोक्स ४३ रन बनाएर आउट भए । यसपछि राशिद रनआउट भए । मार्क वुड पनि धेरै समय टिक्न सकेनन् र ५ रन बनाएर आउट भए । इंग्ल्याण्डको इनिङ्स ३३.२ ओभरमा मात्रै १५६ रनमा समेटिएको थियो ।

श्रीलंकाका लागि लेहिरु र म्याथ्युजले उत्कृष्ट बलिङ गरे । लेहिरुले ७ ओभरमा ३५ रन दिएर तीन विकेट लिए । म्याथ्युजले उत्कृष्ट पुनरागमन गर्दै दुई विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.